'कृ' जटिल लाग्नुका कारणहरु
नेपाली नायिका कान्छीको जन्मोत्सवको माहौल र मञ्चमा कमेडीकर्मी सन्दिप क्षेत्रीले दिएको एउटा अभिव्यक्ती सुरुमै राख्न चाहेँ । उनी भन्दै थिए, “हामी नेपाली फिल्म हेर्दैनौँ तर जोडले कुरा काट्छौँ- छिः, झूर, खत्तम, पात- उसैले यस्तै शब्दले कमेन्ट गर्छ जसले हेरेकै छैन ।”
“टाइगर जिन्दा है”को उदाहरण दिँदै उनी भन्दै थिए–“वरिपरि बम र बारुद पड्किँदा र अघिल्तिर गोलीको वर्षा हुँदा पनि सलमानको फेसमा कुनै स्ट्रेस देखिँदैन ।” हिन्दी फिल्ममा नभएको देखाउँदा पनि त्यहाँ नेपाली दर्शकलाई हजम हुन्छ । वास्तविक जीवनमा मेल नै खाँदैन, त्यही कुरा दर्शक, पत्रकार र समीक्षक सबैलाई पाच्य हुन्छ, उल्टै प्रशंसा मिल्छ । तर नेपाली फिल्ममा भने सबै कुरा मिल्नु पर्छ– कमा, फुल स्टप देखि र प्याराग्राफ चेन्जसम्म । सन्दिप क्षेत्री अझ अगाडि भन्छन्– “नहेर्नेले झन् ठूलो गाली गर्छ ।”
यो उनको व्यंग्य थियो । मलाई यथार्थ लागेर यहाँ प्रस्तुत गरेँ ।
नहेर्ने र स्वर ठूलो बनाएर समीक्षा गर्नेहरूको भीडमा गत वर्ष पोखराका एक पत्रकारलाई यो ज्यानले आफ्नै आँखाले देख्यो । उनले चलचित्र चल्दाचल्दै बीचमै छाडेर हिडे र पछि त्यही चलचित्रबारे नानाथरी कमेन्ट गर्न भ्याए । र यो पटक काठमाडौँका एक पत्रकारले ठ्याक्कै त्यही गरेको सामाजिक संजालमा पढियो ।
हाम्रो नेपाली सिनेमा यही पीडाबाट गुज्रिरहेछ । जति नै मिहिनेत गरे पनि नेपाली फिल्मले किन जस पाउँदैन त ? विषय सोचनीय छ । समाजमा सचेत वर्गको रुपमा लिइने पत्रकार, बुद्धिजीवी र समीक्षक नै शंकालु र नकरात्मक भएर नेपाली फिल्मबारे टिप्पणी उठाई दिन्छन् । फिल्म माथिको बलात्कार शुक्रबारबाटै सुरु हुन्छ र एक हप्तामै फिल्मको हत्या । अनुमान लगाउनुस् ३ करोडभन्दा बढीको लगानीमा निर्माण भएको चलचित्र एक हप्तामा हलबाट चैट भयो भने लगानीकर्ताको हालत के होला ? ऊ कहाँ जाला ? के गर्ला ?
अनमोल केसी अभिनित पछिल्लो चलचित्र ‘कृ’ लाई यही प्रवृत्तिले राम्रै प्रहार गर्यो । यो प्रवृत्ति यति हाबी भयो कि अनमोल केसीसँग यदि आफ्नै प्रशंसकहरूको विशाल समूह विश्वासमा हुन्थेन भने यो चलचित्र घाटामा जाने निश्चित थियो । मानौँ नायक अनमोल केसी नभै अरु कोही भएको भए गाह्रो थियो । फिल्म यस्तो उद्योग हो जहाँ कलाको उच्चतम प्रस्तुती, त्यसले माग्ने प्रचुर लगानी अनि प्रचारप्रसार मात्रै भएर पुग्दैन, सिनेमा इन्डस्ट्रीलाई टिकाइराख्न स्टारको पनि आवश्यकता पर्छ । अक्सर कलावाजहरूले स्टारडमको उपयोगलाई खिस्सीको किस्सा बनाउने भए पनि संसारभरका सिनेमा इन्डस्ट्री जोगिएको भनेकै स्टारहरूका कारण हो । अनमोलको स्टारडम र उनको आकाशिदोँ फ्यान फलोवर्लले के नेपाली सिनेमा उद्योगलाई बिगार गरेको भन्न सक्छ कोही ? मलाई त लाग्छ, नेपाली फिल्म उद्योगको लागि अनमोलजस्तै अझै तीन चार जना नयाँ स्टारको आवश्यकता छ ।
नेपाली फिल्मका ट्रेड एनालिस्ट अनुप भट्टराईका अनुसार ‘कृृ’ सुरु भएको तीन दिनमा नै यसले झण्डै सवा तीन करोडको ग्रस कलेक्सन गरेको छ । यो समीक्षा लेख्ने बेला अर्थात् बुधबार साँझसम्म ५ करोडको व्यापार गरिसकेको छ । विदेशमा हुने प्रदर्शन र अन्य डिजिटल फाइदालाई हिसाब नगर्ने हो भने ‘कृ’ लाई आफ्नो लगानी उठाउन अझै ४ करोडको ग्रस कलेक्सन गर्न जरुरी छ । तर जुन रुपमा गत शनिबार, मंगलबार र बुधबार दर्शकको भीड हलहरूमा देखियो, यसले ठूलो लगानीमा बनेको ‘कृ’ लाई आफ्नो लगानी रिकभर गर्न सक्ने मार्ग सहज भएको देखिन्छ ।
मैले ‘कृ’ तीन पटक हेरेँ– सुरुमा अनमोलको फ्यान भएर, दोश्रो पटक समीक्षार्थ र तेश्रो पटक फिल्मका हलमा रहेका दर्शकको प्रतिक्रिया बुझ्नको लागि । मलाई तीन पटक हेर्दा कुनै बोरडमले छोएन । प्रत्येक पटक फिल्मले मलाई उस्तै तान्यो । म र मजस्तै दर्शकलाई होल्ड गर्ने क्षमता राखेको यो चलचित्र आम दर्शकका लागि भने केही जटिल बन्यो ।
यो रिभेन्ज फिल्म हो । रिभेन्ज फिल्मलाई माथी उठाउने भनको यसको कथानक र संवादले हो । “कृ” को स्टोरीको दायरा साँघुरो हुनु यसको दुर्भाग्य हो । लाहुरे अर्थात् काजी अनमोल आफ्नो हजुरआमाले विवाहको लागि गरेका सबै अफरलाई अस्वीकार गर्दै बच्चाकालको आफ्नो साथी केशरलाई खोज्न गाउँ जान्छ । आफ्नो परिचय लुकाएर । केशरलाई त्यही लाहुरे नै उसको काजी हो भनेर चिन्न समय लाग्छ । जब चिन्छे, ढिलो भइसकेको हुन्छ । ऊ शहर झर्छे काजीलाई खोज्दै । मोबाइलको सम्पर्कमा आइसके पछिको भेटमा काजीकै अगाडि केशरलाई एउटा समूहले हपहरण गर्छ । गाडीलाई पीछा गर्दै बाइक हाँक्दा लाहूरे दुर्घटनामा पर्छ । र, बिमारीबाट उत्रेपछि लाहूरे सबैलाई एक एक गरी बदला लिन्छ । सारमा कथा यही नै हो । “लाहुरे आउँछ, मलाई छुटाउँछ ।” र “लाहुरे आउँछ, एक एक गरेर सबैलाई मार्छ ।” नायिक केशर अर्थात् अदितीले बन्दी भएको बेला बोलेको यो क्रन्दन नै फिल्मको थिम हो । रिभेन्ज फिल्ममा यो डायलबाहेक अर्को कुनै डायलग सम्झनलायक नबन्नुले कथा एवम् स्क्रीप्ट लेखक, जो आँफैमा डाइरेक्टर हुन्, उनी स्वयम् शब्द र संवादभन्दा दृष्यमा केन्द्रीत भएको प्रष्ट हुन्छ ।
फिल्म ‘कृ’ अन्य कुनै पनि हिसाबले कमजोर छैन । हेर्दै जाँदा दर्शकलाई एउटा उत्कृष्ट साउथ इण्डीयन मुभी हेरेको महशुस हुन्छ । केही दृष्यहरु हटाउने साहस निर्देशकले गरेका छैनन् । काजी राती अबेर फर्कन्छ क्लबबाट । घर आई पुग्दा हजुरआमाले बिहेको लागि घरानियाँ परिवारका छोरीहरुको लाइन लगाई दिन्छिन् । यो बकवास दृष्य हो । हटाएको भए पनि कथाको मूल मर्मलाई असर पर्ने थिएन । यहीँनेर अनमोलको अभिनय र प्रस्तुती पनि फितलो देखिन्छ । अनमोलको अभिनय सबैभन्दा उत्कृष्ट केशरको बाबा अर्थात् सरोज खनाल, जो आँफै भूतपूर्व लाहूरे हुन्, उनलाई भट्टीमा भेट्दाको बखत छ । अनमोलले पछिल्लो समयमा सिकेको अभिनयलाई यहाँनेर प्रष्ट देखाएका छन् । अदिती नयाँ नायिका लाग्दिनन् । नेपाली फिल्म उद्योगमा उनको स्थान सुन्दर देखिन्छ । रिसाएको र झर्केको अभिनयमा निक्कै निखारता देखाएकी अदिती एक ठाउँमा भने फिक्का लाग्छिन् । जब लाहुरे नै आफ्नो काजी हो भनेर अदितीले चिन्छिन् त्यो बेलाको आश्चर्य, पछुतो र हतारको भाव एवम् अनुभूतिलाई डाइरेक्टरले अदितीमार्फत् निकाल्न चुकेका छन् । समग्रमा उनी दमदार देखिन्छन् । स्कटल्याण्डको सुटिङ्गले फिल्मलाई रिच देखाएको त छ तर स्वर र संगीतले दर्शकलाई तान्दैन । पुरापुर फिल्मभरी होल्ड भएका दर्शकलाई हलबाट निस्कने वा मोइबाइल चलाउने मौका यही गीतले दिन्छ । डाइरेक्टरले यो गीत फिल्मको अन्त्यमा राखेको भए उत्तम हुन्थ्यो । रिभेन्जवाला फिल्ममा रोमान्टिक गीत फिल्मको ‘दि इण्ड’ पछि राख्ने परम्परालाई पछ्याएकै भए उत्तम हुन्थ्यो ।
द्वन्द्व ‘कृ’को सबैभन्दा उत्कृष्ट पक्ष हो । सम्भवतः नेपाली फिल्म उद्योगले “हँसिया”को मोडर्न द्वन्द्व र “लुट” को अर्गानिक द्वन्द्वपछिको शानदार द्वन्द्व कुनै सम्झ्यो भने ‘कृ’ को द्वन्द्व नै सम्झन कर लाग्नेछ । द्वन्द्वलाई उत्कृष्ट देखाउनमा डाइरेक्टर, सिनेम्याटोग्राफर र फाइट डाइरेक्टरबीचको तालमेल गजब महशुस हुन्छ ।
आर्ट डाइरेक्सन, लाइटिङ्ग र साउण्ड डिजाइनमा गरिएको मेहेनत प्रशंसनीय छ । तिहारको माहौलमा देखिएको सजावट र सरोज खनालले लाहूरे काजीलाई आफ्नै छोरा लाहुरेको दुःखद सम्झना सुनाउँदा उनी बसेको काठलाई जसरी डोरीले बाँधेर आकर्षक दखाइएको छ, यस्तै दृष्यले फिल्मलाई मनमोहक बनाएका छन् । भिजुअल आर्टको पक्ष कमजोर छैन ।
सबै पक्ष राम्रो हुँदा हुँदै पनि हामी समीक्षकले आम दर्शकका लागि ‘कृ’ कस्तो भयो होला त भनेर सोचेनौँ भने समीक्षा अपुरो हुन्छ । अघि नै मैले भनेको साघुँरो कथाले फिल्म हेर्ने दर्शकलाई फराकिलो हिसाबले सोच्ने स्वतन्त्रता दिँदैन । एकपछि अर्को फाइटले दिमाग त तान्छ, तर एक पछि अर्को, अर्को पछि झन् अर्को कथाको लेअर (पत्र) ले आम दर्शकलाई फिल्मको कथा बुझ्न सहज बनाउँदैन । कैयन् दर्शकले हस्पिटलको चार महिनाको बेड रेस्टबाट उठेको अनमोललाई डबल पार्ट हो समेत भनेर सोच्न बाध्य हुन्छन् । फ्ल्यास ब्याकको अत्यधिक प्रयोग, लेअरभित्र अर्को लेअरको कथाले आम नेपाली दर्शक जुन सरल रेखीय कथाबस्तुको फिल्म हेर्नमा अभ्यस्त छन् उनीहरुलाई कहिँ कतै अमिल्दो अनुभव हुनु स्वभाविक हो । तर यति धेरै फ्लासब्याक र कथाको पत्रै पत्रलाई मिलाएर प्रस्तुत गर्नमा डाइरेक्टर सफल छन् । डाइरेक्टरले आफ्नो खुबी प्रयोगमा थोरै मात्रै हेलचक्रयाइँ गरेको भए यो फिल्म बकवास बन्थ्यो । तर दर्शक अन्यसम्म होल्ड हुन्छन् । र, बलात्कारजस्तो समाजिक अपराध बिरुद्ध आवाज दिएर फिल्म सकिन्छ ।
नेपाली सिनेमाको एउटा महत्वपूर्ण दूर्भाग्य भनेको सस्टेनेबल लगानीकर्ताको अभाव हो । एकाध सिनेमा बनाएर भाग्ने शौखिन प्रोड्युशरले कसरी यत्रो उद्योगको कमान सम्हाल्न सक्छन् ? देशका व्यापारिक घरानाहरू नै सिनेमा उद्योगमा लगानी गर्न ईच्छुक छैनन् । नेपाली बैंकहरू सिनेमा उत्पादनका लागि ऋण लगानी नै गर्दैनन् । बैँकले नै ऋण नदिने भएपछि त्यसको इन्स्योरेन्स हुने त सवालै आएन । यसको मुल कारण के हो भने सिनेमाले गर्ने बजारको पूर्वानुमान गर्न सकिँदैन । यस्तो पूर्वानुमानको एउटा बलियो आधार भनेको स्टारडम नै हो । तर त्यो स्टारडम भन्ने कुरा सिनेमाको नायक या नायिकामा मात्रै निहित हुँदैन । त्यो त अझ ज्यादा रुपमा निर्देशकमा पनि निहित हुन्छ ।
मलाई लाग्छ, ‘कृ’जस्ता सिनेमाको सफलताले नेपाली चलचित्र उद्योगमा ठूलो लगानी आकर्षित हुने सम्भावनाको ढोका खुल्ला गर्छ । अहिलेसम्म नेपालका अन्य क्षेत्रमा स्थापित भएका उद्योगी व्यवसायीहरुको ध्यान फिल्म लगानीतर्फ तान्नको लागि यस्तै फिल्म ३ वर्षमा १ होइन, १ वर्षमा ३ वटा बन्नु र सफल हुनु जरुरी छ । अघि मैले भनेझैँ फिल्म उद्योगले अझै तीन चार जना नयाँ अनमोल केसी जन्माउनु जरुरी छ । तर, एउटै अनमोल केसी निस्सासिने स्थिती रह्यो भने फिल्म क्षेत्रलाई दर्शकको हेँलाले होइन, हाम्रो साँघुरो मानसिकताले बिगारेको हो भन्ने तथ्यांक सही प्रमाणित हुनेछ ।
जक्सन डटकममा प्रकाशित