झाँसीकी रानी भर्सेस ‘मणीकर्णिका’
हिन्दी चलचित्र ‘मणिकर्णिका’ हेरेपछि केही लेख्न मन लाग्यो । भारतीय चलचिको प्रचार गर्यो नभन्नू होला है ।
चर्चित लेखक सुबिन भट्टराईको शब्द सापट लिएर सुरुमै भन्छु– ‘प्रेरणा दिने, उर्जा दिने र केही सिकाउने चीजको कुनै भूगोल हुँदैन ।’
दुई शब्दमा भन्नु पर्दा ‘मणिकर्णिका’ संघर्षको कथा हो । कथाको सारलाई शुभद्राकुमारी चौहानले वर्षौँ पहिले लेखेको ‘झाँसीकी रानी’ कविताको यो अंशले अझ राम्ररी खिच्छः
‘खूब लडी मर्दानी, वह तो झाँसीवाली रानी थी ।’
रानी लक्ष्मीबाईबारे केही जानकारी राख्ने जोकोही सबैलाई थाहा छ यो कविताको हरफ ।
कथाको सार यही नै हो– अँग्रेज सेनासँग एउटा नारीले लडेको वीरतापूर्ण युद्ध !
यो एउटा यस्तो नारीको गाथा हो जोसँग युद्ध लड्ने साहस छ, आमा हुनुको ममता छ, पत्नी हुनुको प्यार र समर्पण छ, पुस्तक अध्ययन गर्ने बानी छ, राजनीतिक र कुटनीतिक चाल चाल्नसक्ने चातुर्यता समेत छ । यी सबै गुणलाई कंगाना रानौतले आफ्नो क्यारेक्टर लक्ष्मीबाईमार्फत् प्रस्तुत गरेकी छन् ।
‘मणिकर्णिका’को कथालाई ‘बाहुबली’का लेखक विजयन्द्रप्रसादले लेखेका हुन् । यसलाई म उनको लेखन होइन, पुनर्लेखन भन्छु किनकी यो नयाँ कथा होइन, सबैले सानैदेखि पढ्दै सुन्दै आएको लोकप्रिय कथा हो । अझ भारतीय विद्यार्थीले त आफ्नो स्कूले शिक्षामा नै पढेको कथा हो यो ।
सबैले सुनेको झाँसीकी रानीको गाथा एउटा चल्तीको मिथ हो । निर्देशक कंगनाले त्यही मिथलाई मुभीमा बदलेकी हन् ।
मिथलाई मुभीमा बदल्नु के सजिलो छ ? छैन । चल्तीको मिथ लिँदैमा के मुभी चल्छ त ? नचल्ने जोखिम उत्तिकै हुन्छ । कंगनाको मनमा पनि यस्तै तर्कना पक्कै चल्मलाएको हुनु पर्छ– सुटिङ्गदेखि रिलिजको पहिलो टेडसम्म । उनले परीक्षा पास गरिन् ।
कुनै ‘गड फादर’ बिना नै बलिवुडमा आफ्नो बलियो किल्ला बनाएकी कंगनालाई आफ्नै जिद्दीपना र दुस्साहसले नै झाँसीकी रानीमाथि नयाँ फिल्म बनाउने र आँफै खेल्ने झाँेक र भोक चलेको हुनुपर्छ भन्ने अनुमान सहज लगाउन सकिन्छ ।
मैले यहाँ ‘नयाँ फिल्म’ भनिँ दिँदा पाठकमाझ अन्यौलता नहोस् । कारण, ‘झाँसीकी रानी’ नाम दिएर यही कथामा ६६ वर्षअघि सन् १९५३ नै फिल्म बनिसकेको थियो । सो फिल्मअनुसार झाँसीकी रानीको बच्चाको नाम मनिकर्णिका होइन, मनु हो । मनु ९ बर्षको हुँदा नै उनको झण्डै ५० कटेका बूढो राजासँग बिहे हुन्छ त्यो कथामा । निर्देशक कंगनालाई मिथबाट के फाल्नु पर्छ भन्ने ज्ञान प्रष्ट छ । उनले बालविवाहको किस्सालाई राखिनन् । कारण, अहिलेको समाजलाई त्यो पच्दैन । दर्शकले गाली गर्थे । समीक्षकले श्राप दिन्थे ।
मिथमा जे छ, मुभीमा त्यही देखाउनु पर्छ भन्ने बाध्यताबाट सर्जक वा निर्देशक स्वतन्त्र हुन्छ ।
त्यति धेरै ख्याल गर्दा गर्दै पनि एउटा पुरुषको निरहता प्रस्तुत गराउनका खातिर राजाले चुरी लगाएको जुन दृश्य देखाइएको छ, यसलाई एउटा नारी निर्देशकले अरु नै फरक बिम्ब प्रयोग गरेर त्यही भाव देखाउन सकिने ठाउँ भने प्रशस्त थियो । यहाँनेर कंगना चुकेको देखिन्छ ।
कंगनाले विशेष ख्याल गरेर नै बालिका होइन एउटा लक्काजवान मणिकर्णिकासँग राजाको बिहे गराइएको कथा समेटिन् । मूल कथा एवम् पुरानो फिल्म ‘झाँसीकी रानी्’मा ९ वर्षकी मनुको राजासँग बिहे भएपछि दरबारमा राजगुरुले ति बालिका–रानीलाई धर्मशास्त्र, राजनीति, भूगोल, इतिहाँस लगायतका सबै शिक्षा पढाएको देखाइएको छ ।
निर्देशक कंगानाले मणिकर्णिकाको बिहे अघि एकमात्र दृष्यमार्फत र बिहेपछि अर्को एक दृश्यमार्फत मणिकर्णिकालाई पुस्तकप्रेमी र अध्ययनशील भएको देखाएकी छन् । दुई दृश्य नै काफी बन्छन् मणिकर्णिकाको कला, साहित्य, संगीत, राजनीति, कुटनीति, भूगोल, इतिहासप्रतिको अनुराग र चेत प्रष्टाउन ।बिहेपछि राजाले उपहारस्वरुप रानी लक्ष्मीबाईलाई विशाल पुस्तकालयमा लगी उनको मनपसंद पुस्तक ‘हर्षचरित्’ उपहारमा टक्राएको दृश्य मनमोहक तरिकाले प्रस्तुत गरिएको छ । एउटा लिडरमा अध्ययन, अनुभव, कल्पानशीलता र भ्रमण जस्ता गुणहरु आवश्यक मानिन्छ । यी सबै गुणहरु मणिकर्णिकासँग भएको प्रष्ट्याउनको लागि यस्ता दृश्य ख्याल गरेर नै समेटिएको छ । अस्त्र–शस्त्रको ज्ञान, दुश्मनसँग कहिल्यै नडराउने स्वभाव र परिस्थितीअनुसार लिन सक्ने निर्णय क्षमता त रानी लक्ष्मीबाईको विशेषता नै भयो ।
मूल कथाले छुँदै नछोएका पक्षलाई कंगानाले सप्रेम समेटेकी छन् । विधवा नारीलाई अबिर लगाउन लगाएर उनले होली मनाएकी छन् । सन् १८५० को समयमा एउटा रानीले चालेको यो कदम साँच्चिकै क्रान्तिकारी छ ।
आफ्नो पुत्र र पतिबाट बियोगले रानीलाई दुःखी त अवश्य बनायो । तर शोकलाई उनले शक्तिमा बदलिन् । रोनाधोना गरेर विदुवाको मर्यादामा बस्ने समय कत्ति पनि थिएन । राज्यले रानीको क्रियाशिलता खोजेको उनले महशुस गरिन् । विशेष परिस्थितीमा उनले देखाएको निर्णय क्षमता विशेष नै छ । कंगानालाई थाहा छ, दर्शकलाई मुख्य पात्रप्रति मायासँगै खलपात्रप्रति घृणा पनि बरोबर मात्रामा जगाउन सक्नु पर्छ । तबमात्र कन्फ्लीक्ट सोचनीय बन्छ र क्लाइमेक्स रोचकीय । नत्र अमिर खानको ‘थग्स अफ हिन्दुस्तान’ जस्तै मिथ हेर्दा हेर्दै फन्टुस मुभी बन्न जान्छ । त्यसलै उनले पुरानो कथामा नभएका किस्सालाई पनि बडो रचनात्मक भएर जोडेकी छिन् ।
जस्तै अँग्रेज सेनापतिले बाटोमा हिँड्दै गर्दा कलधारानजिक भेटिएकी एक गरिब बच्चीलाई उनको नाम सोध्छ । उनले आफ्नो नाम लक्ष्मी बताउँछिन् । रानी लक्ष्मीबाईसँग नाम मिल्नु संयोग थियो । तर त्यसैले वियोग निम्त्याउँछ । ती बालिकालाई रुखमा झुण्ड्यार मारिदिएको दृश्यसँगै अँग्रेज सेना अघि बढ्छ । यसले आम दर्शकमाझ अँग्रेज सेना अर्थात् खलपात्रप्रति घृणा र लक्ष्मी अर्थात् मुख्यपात्रप्रति प्रेम जगाउँछ ।
त्यस्तै, अँग्रेज सेनापति र उसको समूहले जब झाँसीलाई कब्जामा लिन्छ तब सबैभन्दा पहिला रानीको पुस्तकालय जलाएर मनका आक्रोश पोख्छ । रानीको पुस्तक प्रेमलाई सम्मान गर्ने दर्शकको मनमा अँग्रेजप्रति थप घृणा भाव जाग्छ । कंगाना प्रेमभाव र घृणाभाव पैदा गर्ने सवालमा व्यवस्थीत र चलाख देखिन्छन् ।
मूल कथा एवम् पुरानो मुभीमा राजगुरुलाई अलि फरक देखाइएको छ । उनी राजाले झाँसी जोउँछन् भन्नेमा उनी सशंकीत छन् । अँग्रेजसँग निडर भएर प्रस्तुत हुन नसक्ने राजा बुढेसकालमा धकेलिँदै छन् । राज्यमा राजकुमार छैन, राजा सन्तानविहीन छन् । झाँसीलाई अँग्रेज शासकले एकपछि अर्को विभिन्न कारण बनाएर पेल्दै जान्छन् । यो अन्धकारबाट आत्तिएर राज्य बचाउने जुक्ती खोज्नका लागि राजगुरु महिनौँको यात्रामा हिँडेको देखाइएको छ । केही रिस, केही आवेग र केही आशा छ उनमा ।
नयाँ कथामा कंगानाले पहिलो दृश्यमा नै राजगुरुलाई मस्त घोडासहित सुन्दर मणिकर्णिकासँग पटाक्षेप गरिएकी छन् । उनले एक्लै बाघलाई घाइते बनाएको दृश्यबाट राजगुरु टुंगोमा पुग्छन्– झाँसीको राजाको लागि योग्य बधू मणिकर्णिका नै हुन् ।
पुरानो फिल्ममा राजगुरु यात्रा विरहलाग्दो छ, थोरै आशा मिसीएको । उनले एकदम चलाख, जिद्दी र तीक्ष्ण दिमाग भएकी एक बालिका चौरास्तामा भेट्छन् र यदि उनको बिहे झाँसीको राजासँग गरिदिने हो भने झाँसी जोगिन्छ भन्ने आशा पाल्छन् । आशा विस्तारै विश्वासमा बदलिन्छ ।
यो विश्वासलाई पुरानो र नयाँ दुवै फिल्मले उस्तै जतनका साथ समेटेका छन् । फरक यत्ति हो कंगानाले कथा, पात्र र दृश्यमा ग्लामर थपेकी छिन् । चौरास्ताबाट दृश्यलाई हटाएर जंगल लगेकी छन् । चौरास्तामा भएको अँग्रेजको हात्ती सवारलाई उनले अजंगको बाघमाथी गरिएको हमलामा बदलेकी छिन् ।
दुई फिल्मबीच थिममा समानता छ भने कैयन् सन्दर्भ र घटनाको क्रमिकतामा फेरबदल । बाघलाई एक्लै घाइते बनाउन सक्ने उनको साहस र घाइते बाघलाई उपचार गराएर टाढा जंगलमा छाड्नू भन्ने करुणाजन्य अभिव्यक्तीबाट राजगुरु पग्लीन्छन् । त्यो दुवै भाव एउटा राजा वा रानीका भाव हुन् । एउटा ब्राह्मणको छोरीलाई उनी आफ्नो रानीको रुपमा सपना देख्न थाल्छन् । दर्शक घटनाक्रम, संवाद र दृश्यसँगै कन्भीन्स हुँदै जान्छन् ।
कगनाले गरेको चलाखी नै यही हो । बाटोमा आफ्नो बुढो बाबालाई धकेलेको दृश्यभन्दा जंगलमा बाघ मारेको दृश्य ज्यादा जोडदार हुने देख्छिन् कंगना । यसले पुष्टी गर्छ पुरानो मिथमा ग्लामर भरेर मुभी बनाउने क्षमता कंगनासँग प्रचुर छ ।
झाँसीकी रानी सन् १८५८ को जुन १८ मा युद्ध मैदानमा मरिन् । त्यो बेला उनको उमेर जम्मा २९ वर्षको थियो । बच्चालाई पीठ्युँमा बोकी, हातमा तरबार लिँदै अजंगको घोडा चडेर उनले अँग्रेज सेनासँग गरेको लडाइँ अविश्वसनीय, अकल्पनिय र अद्भूत छ । त्यो अकल्पनिय मिथलाई ग्लामर दिइन् कंगनाले । दर्शकलाई आँखामा नबिझाउने दृश्य दिइन् । जनताको झपडीमा पुगी तातो दूध पिउँदै उनीहरुसँगै कम्मर मर्काएर नाच्ने रानीको कल्पना गरिन् । अँग्रेजले झाँसी हडप्दा पनि शीर नझुकाई बाहिरिने विरंगानाको कथा बुनिन् । अँन्धकारमा दरबार छोड्दा पनि जनताले हातहातमा मशाल बोकेर साथ दिएको लामो लस्कर निर्माण गरिन् । मुभीकी नायिकासमेत रहेकी निर्देशक कंगनाको कल्पनाशीलतासहितको मेहेनत बेजोड छ ।
बलिवुड पुराना श्यामस्वेत फिल्मका कथालाई झनै प्रभावकारी बनाउनमा लागी परेका छन् । नेपाली फिल्म उद्योगमा पनि यो कर्म जरुरी छ । थप मिठासता र ग्लामरसहित ‘प्रेमपिण्ड’, ‘बसन्ती’ र ‘भानुभक्त’ जस्ता पुराना फिल्महरुको रिमेक सम्भव छ । नयाँ कथा र रोचक संवादकै नाममा फिल्मवालाहरु फिरन्ते बन्दै दूरदराज दौडन र पौडन आवश्यक छैन । नयाँ र रोचक त शैली, प्रविधी र प्रस्तुतीमात्रै हो चाहिने । बासी कथा र पुराना किस्साबाट पनि दर्शकलाई ताजा महशुस गराउन सम्भव छ । असल कुरा सबैबाट सिकौँ । प्रेरण लिऔँ । प्ररेण दिऔँ ।
जक्सन डटकममा प्रकाशित