थुईक्क ! विवेकशून्य बबुराहरु
‘बाचा गरिन्छ यहाँ तोड्नका लागि’— मेरा नयाँ मित्र सूर्यनाथ पहारी भन्दै थिए, गत शनिबार वालिङबाट पोखरा फर्कीदै गर्दा । स्रोता थियौ हामीहरु—स्पन्दन ब्याण्डका प्रसाद थापा, एईसीका प्रबन्ध निर्देशक सन्तोष शााही, लेखक राजन गोदार र यो पंत्तिकार । यात्रा थियो स्याङ्जाको, गन्तव्य थियो वालिङको, वालिङमा पनि कसैको । यो ‘कसै’ शब्दसँग धेरै सजग र सचेत हुनु पर्दोरहेछ । मिल्यो भने ‘कसै’ सबैको हो र मिलेन भने ‘कसै’ कसैको पनि होइन । माओवादी नेताको टाउकाको मूल्यजस्तै छ यसको रहस्य र माधुर्य । अहिले टाउकाहरूको बैठक बस्दैछ राजधानीको कुनै होटलमा । मूल्य, शुल्क र शर्त खारेज गरिएका गह्रौँ टाउकाहरू बोकेर जंगलबाट शहरतर्फको यात्रा आरम्भ गरिएको छ, डेढ महिनाअघि । यसले जीवन र जगत्को अबोधगम्यतालाई यात्राको सानो किस्साबाट नियालेको मात्र छैन, एउटा नयाँ रुप दिएको छ नाटकको र यसलाई नाटकमै समेट्ने र नियाल्ने कसरत गरी राखिएको छ । हो, रङ्गमञ्चजस्तो जगत्मा जीवनलाई नाटक मान्न सकिन्छ, त्यसमाथि राजनिती एउटा नाटकबाहेक अरु केहि हुँदै होइन र हुन पनि सक्दैन । मुलुकको राजनीतिक दृष्यपटमा हुर्कीरहेको, अझ हुर्काइएको यो नाटक आफैँमा कम रोचक छैन । नाटकलाई ऐतिहासिक सफलता दिलाउन मुलुकका केहि पुराना र केही नयाँ ‘कसै’हरू कम्मर कसेर लागिपरेका छन् । नाटकका प्रमुख पात्र लोकेनबाबु के भन्छन् ? मलाई केहि पनि थाहा छैन यो यात्रा कसरी शुरु भयो— उनी यसै भन्छन् । यसो भन्दैगर्दा लज्जाको लेश पनि देखिँदैन उनको चेहरामा । नाटकका भाईनायक नारान पुन के भन्छन् ? सबै कुरा ‘माथि’ बाट भयो– उनी यसै भन्छन् । यस्तो लाग्छ उनी मलुक चालाउने मन्त्री होइनन्, चेसका गोटी हुन् । न स्वाभिमान छ, न छ स्वत्व न नीजत्व नै । नाटकका अर्का सदाबहार जोकरपात्र कुबेर कान्छा के भन्छन् ? राजाले वार्ता गरेर कुरा सिद्धाए– उनी यसै भन्छन् । बुभिनसक्नुको छ उनको कुरा । यस्तो लाग्छ उनीहरू पालेका चरा हुन्, चराहरूलाई माईक्रोफोनमा भजन गाउने लोट्री मिलेको छ मालिकको अनुकम्पाबाट । थुइक्क विवेकशून्य बबुराहरु ! गत शनिबार हाम्रा मन्तरी नारन् पुनले एक समारोहमा प्रेमभक्तिले भरिएको एउटा भजन गाए मोटो गर्धन फुलाएर– ‘खोलानालासँग सोधेँ गाउँ तिम्रो खोजी–खोजी / आएको छु मायालु यहाँ तिमीलाई साथी रोजी !’ र, स्रोता बने गीतकार माधव घिमिरे र रत्नशम्सेर थापाहरू । आम स्रोता र दर्शकलाई ज्ञात भयो नाटकका पात्रहरु बहुमुखी प्रतिभाका धनी रहेछन्– नाट्यअभिनय र भजनगायत दुबैमा पोख्त ! वर्तमान सरकारका मन्त्रीहरु, राजाका प्रतिनिधिहरु भजन गाइरहेछन् । अब बाँकी छ यिनीहरुले रत्यौली खेल्न । रत्यौलीको पहेँलो आँगन तयार भइसकेको छ वर्तमान राजनीतिका पाटांगिनीमा, यसलाई लिपिसकिएको छ र पोतिसकिएको छ । जतिसुकै हात उचाल्दै लामो नाक बजाए पनि अब लुठो बन्नेछ लाउडा काँग्रेस र मादल भिरेर रत्यौलीको आँगनमा उत्रनेछ उसैको भाइकान्छा एमाले । ताली बजाउने छन् अरु वाम, ठाम र दामहरू ।
हो, हामी फर्कदै थियौ गाडीमा वालिङबाट । आखिर यात्रा न हो । लक्ष्य पूरा होस् वा नहोस्, फर्कनु पर्छ एउटा विन्दुबाट– त्यही बाटो र त्यही बस्ती हुँदै । जाँदाभन्दा फर्कंदाको अनुभूति गह्रुङ्गो हुँदोरहेछ पछिसम्म । सबैभन्दा डर त्यो बेला लाग्यो जब मिठो बोलीका धनी प्रसाद थापाले संवाद गर्न बन्द गरे । बोल्नभन्दा बढी गीत गाउन शुरु गरे । प्रीत बल्झेपछि छुटेको गीत अर्थपूर्ण हुँदोरहेछ । उनकै अग्रसरतामा एक वर्षअघि उनकै स्पन्दन ब्याण्डले गाएको यो गीत अहिले उनकै वर्तमान बोलिरहेछ – “तिमीलाई आफन्त ठानैकै थिएँ, यो जीवनको लामो गोरेटोमा / तर तिमी फर्किसकेछौ प्रिय यो जीवनको लामो गोरेटोमा /..... तिम्रो सुन्दरताले दुनियाँ भुलायो, बरु तोडिदियौ ती बाचाहरु / तिम्रो सिउँदो सिन्दुरले रंगाउन चाहेँ, बझ्न सकिनौ सिन्दुरको परिभाषाहरू !” जाँदाखेरी चालिसको स्पीड नकटेको गाडीलाई उनले असीको स्पीडमा गुडाए । न्यानो स्पन्दन, मिठो अनुभूति लिएर हाम्रै समसाथमा उनको यात्रा शुरु भएको थियो । तर फर्कदा हामीलाई हेक्का भयो– उनको स्पन्दनको तार कतै टुट्यो र अनुभूतिको कुनामा कसैले कुस्ती खेल्यो । मैले यात्रामा खूब सोँचे– आज राती ऊ कति रुने हो ! छुरालाई कलम बनाएर हातमा उसैको नाम कति पटक कोर्ने हो !
लेकसाइडको होटल साइलेन्ट पार्कबाट शुरु भएको त्यो यात्रा स्याङ्जाबजारहुँदै वालिङ पुगिन्जेल वालिङबाट त्यही गोरेटो र गल्लीहुँदै पोखरा फर्किन्जेल न ऋषिकेश शाहबारे कुरा भो, न शंकर पाण्डेकबारे नै । बरु बसन्तको कुरा भो । स्याङजाको पाखा–पाखाभरि लालीगुराँस लटरम्म फुलिसकेको छ, कोइलीले आवाज दिन शुरु गरिसकेको छ । जताततै मौसमले वसन्त पाएको छ, तर मित्र प्रसादले यसै प्रहर आफ्नो वसन्त गुमाएको छ । हो, कवि सरुबिन्द ठीकै भन्छन्– केही कोइली कराउँदैमा, केही लालीगुराँस फुल्दैमा बसन्त आयो भन्न मिल्दैन । यसबारे धेरै कुराहरु छन् भन्नुपर्ने र लेख्नुपर्ने । अहिलेलाई बाँकी थोरै चर्चा केही मेल, र्याल र खोलहरुबारे ।
एमालेका मसिहाहरू सार्वजनिक समारोह एवं सञ्चार माध्यममा पटक–पटक सगर्व घोषणा गर्दछन्– एमाले मुलुकको सशक्त प्रतिपक्ष हो र सोझा कार्यकर्ताहरू चटाइमा बसेर धुलोमा बसेर अविराम ताली बजाउँछन् । तर वास्तविकता विल्कुलै भिन्न छ । बाह्र वर्षको बैशाखी राजनिीतिमा न एमाले सत्ता पक्षमा थियो न प्रतिपक्षमा नै । यो पंक्ति पढेर एमालेहरु तीन बित्ता नउफ्रे हुन्छ, सरल चित्तदशाका ‘लेम्यान’ पाठकहरु अचम्ममा नपरे हुन्छ । सत्य तीतो लाग्छ भने लागोस्, कुनै दुखेसो र गुनासो छैन । यो पंक्तिकारले बुझाउनुपर्ने प्रशस्त कुराहरुको मुलभूत कथ्य र तथ्य एउटै छ– बाह्र बर्षे राजनितीमा कहिले राजा सत्ता पक्षमा उभिए र कहिले काँग्रेस सत्ता पक्षमा उभियो राजा र काँग्रेस– यी दुई नै मुलुकका सदावहार निर्विकल्प शक्ति हुन् जो सधैँ पालै–पालो पावर, पद र पोजिसनको वृत्तमा अनवरत फन्को मारिरहे । एमालेले न खेल खेल्यो, न खेलायो । सिर्फ हेरिरह्यो, सुनिरह्यो र सुँघिरह्यो । जनमतको कदर छयालिस सालअघि मात्र होईन, पछि पनि भएन । नत्र संसदीय फाँटमा न्यून मत ल्याएका राप्रपा र सद्भावनाहरु कसरि पटक–पटक पावरमा पुग्थे ? यस्ता उदेक लाग्दा राजनीतिक उहापोहबाट एमालेले सिकेको एउटै रानीतिक मन्त्र, तन्त्र र यन्त्र थियो र हो –कसरी काँग्रसको भाइकान्छा बन्ने ! र, बन्यो पनि– काँग्रेसको कार्वनकपी । यसैमा छ एमालेको कथित सफलता । यदि काँग्रेसको भाइकान्छा बन्नुमा नै एमालेको समग्र राजनीतिक संघर्षको ध्येय, लक्ष्य र गन्तव्य हो भने आत्मरती लिए हुन्छ एमालेले त्यो सफलता हाँसिल गरेको वर्षौँ भयो । अमेरिकाको ओरागन स्टेटमा बसेर २१ औँ शताब्दीका स्वघोषीत भगवान, आचार्य रजनीशले पश्चिमाहरुलाई धेरै महिले संघर्ष र शत्रुताबारे सिकाएको एउटा सुत्र थियो– ‘तिमी जोसँग लड्छौ, प्रतिस्पर्धामा उत्रन्छौ वा शत्रुता मोल्छौ, लड्दा–लड्दै तिमी पनि तिम्रो शत्रुजस्तै बन्नेछौँ सोचाई, शैली र व्यवहारमा । हिटलरसँग लड, तिमी हिटलरजस्तै हुनेछौ । ‘बुद्धसँग लड, तिमी बुद्धजस्तै हुनेछौँ ।’ दुःख लाग्दो कुरो के रह्यो भने एमालेले सँधै संघर्ष गर्यो, प्रतिस्पर्धा गर्यो– काँग्रेसका बिरुद्धमा । उसले न राजासँग संघर्ष गर्यो, न माओबादी, न विदेशी शक्तिसँग नै । नेपालको इतिहासमा कालो चश्माधारी कवि महेन्द्र र उनीसँग कुहीना ठोक्ने संयोग र सौभाग्य पाएका थोरै आत्माहरुमध्ये एक, कथाकार विश्वेश्वरहरूको घाँटी हेर्दा–हेर्दै जोडियो । त्यो कमालको समीकरण थियो । जनताले एउटा अनौठो राजनीतिक जन्तु ड्रागनलाई देख्ने सौभाग्य पाए त्यस बखत । भेदै पाउन नसकिने । बुझ्नमा भन्दा हेर्नमा मज्जा । सुनेपछि ‘ए त्यसो पो’ लाग्ने । ‘ए हो र ?’ भन्नु पर्ने । उही ठ्याक्कै गोपाल दहीत मन्त्री बनेजस्तो । सोझा र सरल चित्तदशाका राजनीतिक कार्यकर्ता र खेतालाहरुलाई छुट्टयाउनै गाह्रो –को बनारसबाट आएको र को राजदरबारबाट ? विश्वको इतिहासमा हिटलरसँग लड्नेहरु अन्त्यमा हिटलरजस्तै बने । अब यो निश्चित छ – इराकी हुसेनसँग लड्दा– लड्दै अमेरिकी बुसहरु उस्तै बन्छन्, दुरुस्तै लाग्नेछन् । यो मनोविज्ञान त्यति जटिल छैन। जति जटिल छ एमालेको खोल, काँग्रेसको र्याल र राजाको मेल ।
२०५९ चैत्र ४ मंलबार, ‘आदर्श समाज’ दैनिकमा प्रकाशित