पावर हाउसतिरको नहरमा...
म बाँदर, हेरौँ को बन्छ मेरो मदारी ?
सत्ता, कुर्सी र शक्तिका सबै शिकारी
मेरो पुन्छर कसले च्याप्प समात्न सक्छ ?
हेरौँ कसले मलाई नचाउन लग्छ ?
देशभरि रगतका खोला गर्जदैँ छन्
मेरै लागि सबैतिर गोली बज्रँदै छन्
बन्द, जुलुस, हड्ताल सबै मेरै लागि
एक–अर्काका रिपु दल हेर्छन् मलाई ताँकि ।
विगत बाह्र वर्षसम्म सत्ताको सर्पनाच, भालुनााच र बाँदरनाँच गराई अथाह सम्पत्ति आर्जन गरेका गरिव मुलुकका वाग्ले, गुप्ता र खड्का धनी भनिने मदारीहरूलाई जेलचलान गरिँदै गर्दा अनिश्चीतकालिन विदा मनाइरहेको राजधानीको कुनै एक स्कुलमा कक्षा नौमा अध्ययनरत विजया पौड्यालले “म सत्ता” शीर्षकको यो कविता लेखिन् र एक राष्ट्रिय दैनिकले विशेष स्थान दिएर आफ्नो बालकोसेलीमा छाप्यो गत शुक्रबार । अकस्मात् आँखा प¥यो त्यसमाथि, एकोहोरो पढ्दै थिएँ । मसँगै छेउमा बसेर ‘कान्तिपुर’ को पाना पल्टाइरहेको मित्र गनेसले अकस्मात घच्घच्याउँदै घोषण ग¥यो– “बुझ्यौ महेश ! यो लेख छ नि अभि सुबेदीको, यसलाई ८५ प्रतिशत मान्छेले पढे पनि बुझ्दैनन् । त्यसका पनि ५० प्रतिशतले पढ्दैनन् । बाँकी मध्ये ५० प्रतिशतले बुझे पनि नबुझेजस्तो गर्छन् र बाँकीले मात्रै बुझ्छन् र आत्मसात गर्छन् ।” मैले उसलाई तत्काल प्रतिशत गरेँ –“कुरा केश फुलेका अभि सरको मात्र होइन एउटा स्कूले छात्रा विजयाको कविताको कथा पनि उस्तै छ, तिमीसँग यसको के तथ्यांक छ ?” फिस्स हाँसेर चुप लागेको उसले यसको तथ्यांक निकाल्नपट्टि लाग्यो वा अभि सरको लेख फेरि चपाउनपट्टि लाग्यो थाहा भएन तर म भने प्रियम्वद जस्मिना संजीको एउटा पुरानो पत्र पढ्नतिर लागेँ–
प्रिय महेश !
उदासिनताको अर्थमा मैले मेरो जीवनलाई अथ्र्याएको कदापी होइन । तर कहिलेकाहीँ उदासिनतासँग सम्झौता गर्नु पनि स्वादिले हँदो रहेछ । झम्झम् पानी परिरहेको छ बाहिर, भित्र म छु र मसँग छन् केही अविकसित मान्यताहरु । महेश ! तिमीले पनि पक्कै अनुभव गरेको हुनुपर्छ साँझपख पानामा निथ्रुक्क रुझेर मकै चपाउँदै जीवनको स्वाद लिनेक्रमको घटना ।
नयाँपनहरु पुरानो मिचेर आउँछन्
वास्तविक नायँपन त त्यही हो
जोसँग पुरानोपनाको तुलनासम्म गरिन्न ।
आफैसँग अस्पष्टतः नसोधिने प्रश्नहरूमध्ये एउा प्रश्नको उत्तर हो यो पंक्ति । उदासिनताहरू मानौँ मेरा खुशीहरु हुन्–
आज मन चंगा भएको छ
कारण यतिखेर म
मेरो अन्तरको महेशलाई सम्झेर
लट्टाइमा बेर्दै छोड्दै
चंगा उडाइरहेछु ।
पश्चिमतर्फ बहनुमा नै सूर्यको अस्तित्व हुन्छ । अन्यथा क्रमसँग जुधेका मानसिकताहरूमा ‘गति’को दर्शन बोकेर फेरि कार्लमाक्र्सहरूको अस्तित्वलाई अथ्र्याउन जर्ज लुकाचहरू जन्मन्नन् भन्न सकिन्न–
सहजताको बिहानीमा
सुसेलीका स्नेहहरूले मुसार्दै
मेरी ममताकी आमा
मेरी ‘माक्र्स’
मेरो शताब्दीलाई स्तनपान गराइरहिछन्
यस बखत उनको काखमा निर्भय
लमतन्न परिहेछु
प्लिज, मेरो नूतन निद्रालाई भंग नगर ।
आजकाल म मित्रताको विवेचना नगर्ने मुडमा छु । नत्र मलाई राम्रोसँग ज्ञान छ म जब–जब महेशलाई सम्झन्छु अनि कविता कोर्न थाल्छु तर जब महेशलाई भेट्छु तब कविता मेट्न थाल्छु जबकी मलाई राम्रोसँग थाहा छ–
महेश,
कुरा गर्दैन
“इन्रभयू” लिन्छ ।
खहरे खोलाको समीपमा सेताम्मे फुलेका काँसहरूझै ङिच्च हाँसेर ठिङ्ग उभिएका काँसका बोटहरूसँग बचेर मैले पनि तिमी र तिम्रो मझेरीसँग नाता नजोडेको कहाँ हो र ? र पनि कथाहरू बन्नका लागि एउटा घटनाक्रम चाहिन्छ, महेशसँग मेरा घटनाहरु छैनन्, दुर्घटनाहरू छन्, दुर्घटनाहरूसँग पैठेजोरी खोज्नु हुन्न भन्ने पुरातनवादी सोचलाई थाँती राखेर म एउटा कथाको रचना गर्दैछु यतिखेर विभाजनको, बन्धनको, मित्रताको ... .... ....
फेवातालको बाँध
बाँधमाथि अँगालोमा बाँधिएका हामी
अतिकति बन्धनमुक्त भएर
अतिकति बन्धनहरूमा बाँडिएर
महेश पातलोछाँगोतर्फ बग्यो,
गनेस पावर हाउसतिरको नहरमा....।
जे होस् बहनु जीवन हो र हामी बहेका छौ । नत्र डा. अभि सुवेदीको झैं हाम्रो आनन्द पनि यस्तै–यस्तै हुन्थ्यो–
बसपार्कमा
सबैजन आनन्दले रमाइरहेका छन्
सबैजना भित्तामा मुतिरहेका छन् ।
खुसी मनाऔँ– हामीले भित्तामा मुतेर आनन्द साटेका छैनौँ । नत्र भने हामीसँग पनि मुत्नुको मजाको बोध हुन सक्थ्यो र बोधले जन्माएको मजालाई ‘मजा’ नभन्ने हाम्रो तर्क छ । आजलाई विदा... .... ...
ठिङ्ग उभिएको नरकटको रुख
रुखको वरपर सिस्नुको घारी
घारीमाझमा फुटेको आरी
आरीमा तताएको कथा, बैँस !
सिस्नुले पोलेको ब्यथा, बैँस !
नरकटको रुखझै उभिएको बैँस !
बैँस ! मान्छे !!
मान्छे ! बैँस !!
बैंसले गिज्याएको मान्छे !
मान्छेले गिज्याएको बैंस !
बैँस ! धर्म !
धर्म ! बैंस !
बैंस ! धर्म ! मान्छे !
उर्फ,
नरकट ! सिस्नु ! आरी !
थाहा छैन कति पटक पढेँ यो पत्रलाई ? र थाहा छैन यो पत्र म यति धेरै पटक किन पढिरहेछु ? यसमा मैले एउटा अनौठो आत्मियता पाएको छु भलै यसलाई शब्दसः बुझ्ने चेस्टा मैले कहिल्यै गरिनँ । जीवनमा यस्ता धेरै कुराहरु हुन्छन् जुन अकारण मन परेका हुन्छन् । सौरभले कुनै बेला लेखेको एउटा पंक्ति यस्तै गरेर बिसारै मन परेको थियो –“आर्थिक मन्दीका बेला कविता धेरै लेखिन्छन्, किशोरीहरु घरबाट भाग्छन्, खुर्सानी र मरिच धेरै बिक्छ, फोनको प्रयोग धेरै हुन्छ, चराहरु बढी पालिन्छन् ।” साँच्चै आर्थिक मन्दी यति विघ्न भयावह हुन्छ होला भनेर मैले कहिल्यै सोचेको थिइनँ । जीवन र अर्थका बीचमा सन्निहित विचारको यस रुग्ण स्वरुपलाई आत्मसात् गर्दा म धेरै पटक रोएको छु । सायद योभन्दा अर्को उपाय मसँग थिएन । मालिकले पोलेका “चराहरू”को एउटै नियति र उद्देश्य मालिक खुशी हुनु हो– गीत गाएर होस् या आफ्नै टाउको चुँडालेर । जब “चरा”हरू माइक्रोफोनसम्म पुग्छन् तब तीन कक्षामा पढ्ने क्षात्रा सम्पदा भट्टराइको बालसुलभ कविताले पनि भिन्न अर्थ दिँदोरहेछ –
सानो– सानो बट्टा छ
बट्टाभित्र बोली छ
झ्याइँ– झ्याइँ कराउँछ
रमाइलो गराउँछ ।
कहिले कथा कहिले कविता
यै हो त्यसको रमिता ।
केको सिनेमा, केको भिडियो
मलाई त प्यारो आफ्नै रेडियो ।
(२०५९ पुस ९ गते मंगलबार, आर्दश समाज दैनिकमा प्रकाशित)