Blog Image

अतित, मिलन र तरेलीहरु

प्रिय अतित!

रुचिहरुको सहचर्यामा इतिहासको कुनै एक साँझ तिमीसँगैको अर्थलाई अथ्र्याउन मैले तिम्रो आतिथ्यपूर्ण आग्रहमा एउटा अनौठो पुस्तक किनेको थिएँ । आजकाल तिम्रो स्पर्श र आवाजलाई आदरसहित कैद गरेर त्यो किताब मेरो आलमारीमा अद्यावधि बसिरहेछ । तिम्रा स्मृतिजन्य अनुभूतिहरु एक अर्थमा यस किताबका शब्द-शब्दसँग साटिएका छन् । तिमीलाई सम्झना होला मिलान कुन्डेराको त्यो किताब- ‘अस्तित्वको असह्य हलुकापन (दि अनवियरेवल लाइट्नेस अफ विइङ्ग’) । 

किताबमा एउटी कुकुर्नी छे कैरेनिन नामकी । तोल्सतोयको प्रसिद्ध उपन्यास “अन्ना कैरेनिना”की अविराम नायिका कैरेनिनाको पति अलेक्सिस् अलेक्जान्ड्रोभिच कैरेनिन, एउटा सुसंस्कृत र उच्च वर्गीय रसियन परिवारको मान्छे र कुन्डेराको पुस्तक भित्रको दरिद्र नायिका टेरेजाको कुकुर्नी बीचमा हुन त कुनै सामिप्यता छैन । (सम्भवत यो एक विपरित लिङ्गी र ध्रुवीय पुनराबृत्ति हो नामाकरणको ।)  तर पनि तिमीले र मैले अनुभव गरे जस्तै यसरी नै आफ्नो अभिष्ट पूरा गर्छन् टमस र टेरेजाहरू ।

 किताब शुरु भएको छ नित्सेको दर्शनबाट- दि आइडिया अफ इटरनल रिटन । यसकाअनुसार कुनै पनि कुराको एक पटक अनुभव गरपछि त्यो कुराको फेरि आगमन हुन्छ, र त्यो पुनर्आगमनको अनन्तसम्म पुनरावृत्ति भैरहन्छ !  सम्भवत: नित्सेको विचाहरुमध्ये सबैभन्दा डरलाग्दो विचार ! मैले आजसम्म बुझेको छैन यसलाई । 

जीवन भनेकै अनुभवहरूको पुनरावृत्ति हो । जीवनलाई एउटा निर्दिष्ट गोरेटोमा कुदाउने हरकोहीका हरेक साँझ र बिहानहरू उस्तै–उस्तै हुन्छन् । पुनरावृत्ति निश्चय पनि शुन्यवादी चिन्तनको एउटा अभिष्ट हो । 

सात सालको क्रान्ति फेरि फक्र्यो भने निश्चय पनि इतिहासकारहरूले बी.पी. कोइरालालाई हल्का पाराले लिनेछन् । हो, बी.पी. कोइराला अझै पनि हाम्रा मस्तिष्कमा जीवित छन्, इटरनल्ली पुनरावृत्त । तर कहाँको सात सालको बी.पी. र कहाँ अहिलेको बी.पी. । कहाँ त्यो बेलाको गंगालाल र कहाँ अहिलेको गंगालाल । इतिहासको तह जति-जति बाक्लिदै जान्छ उति–उति इतिहास पुरुषहरूको छवि पातलिँदै जान्छ । हल्का हुँदै जान्छ । एक सय वर्ष पूर्वको जीवन जति ठोस थियो त्यत्तिकै कडापन भएको जीवन अहिलेको छैन । मान्छेको जीवन दिनानुदिन हलुका बन्दै गएको छ, पातलिँदै गएको छ । नित्सेको दर्शनलाई सोहोरेर कुन्डेराले यस्तै भन्दै थिए । फ्रान्सेली क्रान्तिको इतिहासमा मात्र कुनै बखत देखा परेका रोबसपियरो र अहिले फ्रान्सेलीहरुको टाउको चिरेर बसेका रोबसपियरो दुई भिन्दा-भिन्दै ईमेजहरु हुन् । जर्मनको इतिहासलाई कालो सिमारेखाले विभाजन गर्ने इतिहासको वास्तविक हिटलर र जर्मनहरुको टाउकोमा अझै पनि बास बरिहेको हिटलर दुई फरक–फरक इम्प्रेसन पार्ने पुनराबृत्तिहरु हुन् । अवश्य पनि मेडुसा जतिसुकै भयंकर र डरलाग्दी थिई उत्तिकै त्रासद छैन हामीले देखेको शब्दहरुमा सीमित मेडुसा । मान्छेलाई नजरले मात्र  पत्थरमा परिणत गर्न सक्ने मेडुसाको अहिले पुनरावृत्त ईमेज त्रासको सिम्बोल हुन सक्छ तर स्वयं त्रास हुन सक्दैन ।

इतिहास शब्दहरुको इम्प्रेसन मात्र हो । 

विश्व–युद्धका हृदयविदारक घटनाहरू, नालापानी पीडा-प्रसंगहरु, कोरा शब्दहरुमा सीमित कोतपर्वका रक्तपिच्छे कथाहरू सबै–सबै फरक प्रसंग र घटनाहरु हुन् । तर यिनको स्वभाव, आचरण र मानवियतालाई निमिट्यान्न पार्ने गुणहरू बेकेर अझै पनि पुरावृत्त भइरहेछन् –ट्वीन टावरका नीहुँहरु, कालापानीका प्रसंगहरु, नारायणहिटी पर्वका प्रवर्तकहरु । 

यसरी नै पुनरावृत्त भएको हो होइन गत असोज १८ को शाही घोपणा, इतिहासका खग्गुहरू नै जानुन् !

इतिहासको प्रवाहले मान्छेलाई स्याङ्टिफाई त गर्छ नै तर वर्तमानलाई नजानिँदो पाराले उत्तिकै हलुका र अव्यवहारिक समेत बनाउँछ । वास्तवमा समयको गर्तमा धसिएको इतिहास-यात्रा नियमहरुको कटौती हो । मान्छेको मनस्थिती र जीवनचर्या हरेक दिन निर्माण होइन विनिर्माण भइरहेको छ । तिमीलाई थाहा हुनुपर्छ हरेक विनिर्माणहरु एक अर्थका विध्वंसहरू हुन् । समयको गति आँफैमा एउटा अवरोध हो । समय समयसँगै द्वन्द्व गरेर बाँचेको हुन्छ । लेनिनले कतै भनेका पनि छन्- गति स्वयं एक अन्तरविरोध हो ! वास्तवमा समय यस्तो चिज हो जसलाई समय स्वयंले विभाजन गर्दछ । भनिन्छ ब्रह्माण्डको उत्पत्तिसँगै समयको जन्म भएको हो । समयउत्पत्ति सिद्धान्तको मान्यताका पछाडि समय स्वयंलाई जति बलजफ्ति एउटा गति मानिएको छ त्यत्तिकै डराएर त्यसको पुनरावृत्त आवरणलाई स्विकारिएको छैन । यसले समयको प्रवाहलाई एउटा गतिभन्दा पनि प्रवेगको रुपमा अथ्र्याइएको छ । तिमीलाई थाहा हुनु पर्छ प्रवेग भनेको गतिमा हुने हेरफेर हो । समय निश्चित रुपमै होमोजिनियस डायमेन्सन होइन । 

शब्दहरुको आफ्नै निर्विकल्प स्वाभिमान हुन्छ । शब्दको अर्थ शब्दहरुमा हुँदैन । विगतका अविरल तरेलीहरुमा तरङ्गीत भएर तिमीले जीवनको जुन धुन सिर्जना गर्यौ त्यसलाई सिरानी बनाएर मैले तिम्रा आवाजहरुसँग सम्भोग मात्र होइन सहबासपनि गरेको छु । एउटै सिरानीको आडमा तिमीले झैं मैले पनि आफ्नो टाउकोलाई अतितका धेरै रातहरुमा विश्राम दिएको छु । मैले शब्दहरुसँग कहिल्यै अर्थको अपेक्षा गरिनँ । तिमी आजकाल अर्थपूर्ण शब्द भएर पनि अर्थहिन झै आत्मरमितामा भुलीरहेछौं । भविश्यको कुनै समय बिन्दुमा तिम्रो अर्थबोध गर्न मैले शब्दहरुको कैदखाना शब्दकोष खोल्नु नपरोस् । अहिलेलाई यही कामना गर्दछु ।   

(२०५९, मंसिर १० गते, मंगलबार प्रकाशित)

LOADING
swoosh_up