Blog Image

थुक्क, मान्छे !

कुनै विद्वान्ले भनेका छन् – “मान्छेले जे गर्छ लोभले गर्छ र मान्छेले जे गर्दैन भयले गर्दैन ।” अर्थात् मान्छेले गर्ने प्रत्येक कार्यको पछाडि यी दुई तत्वहरु (लोभ र भय) मध्ये कुनै एकको प्रमुख भुमिका रहन्छ । लोभले गर्दा नै मान्छे कुनै पनि कार्यमा क्रियाशील रहन्छ र भयले गर्दा नै मान्छे कुनै पनि कार्यबाट टाढा रहन्छ अर्थात् चाहेको कार्य पनि गर्दैन । मान्छेले सम्पूर्ण जीव–जगत्मा आफुलाई सर्वोत्कृष्ट बुद्धिमानी प्राणी भनेर घोषणा गरेको पनि आज धेरै युग भयो । चाहे जीवहरूको ऐतिहासिक बिकासक्रमलाई गहिरो अध्ययन गर्ने डार्विन हुन् वा मानव सभ्यताको शुक्ष्म अध्यायन गर्ने अरु कोहि समजशास्त्री हुन्, सो वैज्ञानिक तथ्यलाई सबैले स्वीकार गरेका छन् । व्याख्यामा विभिन्नता आउन सक्छ, परिभाषामा पृथकता पाउन सकिन्छ तर सहि अध्यायन एवं अनुसन्धानको सारतत्व एउटै हो । त्यसैले जन्मनु, जन्माउनु, बोक्नु, ब्याउनु, हुर्कनु, हुर्काउनु, सुत्नु, सुताउनु यही साबित भएको छ मान्छेको संसार जहाँ ऊ अचेतन भएर रमेको छ जसरी स–साना किराहरू फोहोर दुर्गन्धित नालीमा सलबलाएर रमाई रहेका हुन्छन् । संसारमा हार्ने युद्ध (losing battle) लड्नमा मान्छे निकै पोख्त छ, सक्षम छ, अनुभवी छ । मान्छेलाई थाहा छ युद्ध जरुर हारमा अन्त्य हुनेछ तैपनि मान्छेले त्यही युद्ध लड्दा–लड्दै आफ्नो सारा जीवन समाप्त गर्छ । त्यतीमात्र कहाँ हो र ? युद्धको प्रतिफल हारलाई नै उसले आफ्नो विजय ठान्दै जीवनसँग उसले धेरै चोटि सम्झौता गर्छ । मान्छे मात्र यस्तो प्राणि हो जसले लोभ र भय रहित जीवन अहिलेसम्म गुजारेको छैन । मान्छे आफैँमा विभाजित छ त्यसैले ऊ युद्ध गरिरहेछ आफैसँग पटक–पटक । एकातर्फ मान्छेभित्र लुकेको एउटा योद्धा लोभले भन्छ– जीवन एक युद्ध हो, संघर्ष हो । अर्कोतर्फ मान्छेभित्र लुकेको अर्को योद्धा भयले भन्छ– जीवन एक सम्झौता हो, सन्धि गर । यसरि विभाजित व्यक्तित्व (split personality) बोकेर मान्छे हार्ने युद्ध लडिरहेको छ जीवनको एकोहोरो पेन्डुलम बन्दै । 

स्वतन्त्रताको नाममा पराधीनतालाई स्वीकार गरिरहेको छ आजको मूर्ख मान्छे । फैलावटको नाममा संकुचनलाई समाइरहेको छ आजको मूर्ख मान्छे । असीमितताको नाममा सीमिततामा बाँधिएको छ आजको मूर्ख मान्छे । रातको फराकिलो आकाशमा सुन्दर ताराहरू चम्कीरहेका छन् । एक्लो चन्द्रमा संसारभर उज्यालो किरण छर्दै खुला आकाशमा मस्त नाचिरहेको छ । शीतल हावा सुस्त–सुस्त चलिरहेछ । फूलका पत्ताहरू हावासँग मन्द गतिमा फर्–फर् गरिरहेका छन् । टाढा जंगलबाट न्याउलीको गीत तीखो स्वरमा सर्वत्र सुनिएको छ । यस्तो रमणीय परिवेशमा मान्छे नामको जन्तु कता हराएको छ ? पक्कै पनि उ चिन्तित छ, व्याकुल छ, हतारमा छ । सारा धर्ती मस्त छ, सारा प्रकृति नशामा छ, गीत –संगीतमा छ तर मान्छे आफैभित्र खुम्चिएको छ, पीडामा छटपटाइएको छ, होस्मा छैन– वेहोस छ । चेतनामा छैन, अचेतन छ । ताराहरु चम्किरहेको उज्यालो आकाशतर्फ एक नजर हेर्न छाडेर आँगनको कुनामा ऊ झोक्राइरहेको छ । खुला र फराकिलो आकाशलाई नकार्दै सीमित र साँगुरो आँगनमा आत्तिएका मन लिएर रोइरहेको छ ऊ । असीमित आकाश स्वागत गरिरहेछ उसलाई, निमन्त्रणा दिइरहेछ उसलाई । तर उसलाई आफ्नै आँगन प्यारो छ । ऊ मूर्ख मान्छे । छोटो आँगनको होचो आँठोसँग दिनहूँ पैठ खेलिरहेछ– फैलावटको नाममा, उन्मुक्तताको नाममा । थुक्क, मान्छेको मूर्खता । यही मुर्खताले नै मान्छे कहिल्यै स्वतन्त्र बनेन । यही नै उसको नियति हो कि ऊ कहिल्यै आनन्दित हुन सक्दैन । 

मान्छेले आफ्नो अस्तित्व गुमाएको छ किनकि ऊ सधैँ भयबाट लखेटिन्छ । उसले सुन्दर जीवनको अनुपम आनन्द कहिल्यै पाएको छैन किनकि ऊ सधैँ लोभद्वारा सञ्चालित हुन्छ । वर्षासँग दिनभरि लड्ने र हिउँसँग अँगालो मारेर रातभरि सुत्नसक्ने मान्छे नै वास्तविक मान्छे हो । त्यस्तो साहसिक मान्छेलाई नै प्रकृतिको छटासँग लुकामारी खेल्ने स्वर्गीय अवसर प्राप्त हुन्छ । मान्छे कति कायर छ ! खुला धरती र स्वतन्त्र आकाशको परिवेशबाट एक्लो हुँदै मान्छे घरमा छत र आँगनमा आफ्नो संसार बसाउँछ । मानौँ, उसको लागि त्यो नै स्वर्ग हो । रुनु, कराउनु, चिच्याउनु, ङिच्च पर्नु, पिच्च गर्नु, हिस्स पर्नु, ठस्स हुनु– कठै! मान्छेको सांसारीक जीवन । ऊसँग अभिशप्त घरका चुहिएका छतहरू खसाल्ने अलिकति हिम्मत पनि छैन । ऊसँग श्रापयुक्त घरका चिरा परेका भित्ताहरू भत्काउने अतिकति साहस पनि छैन । यस्तो लाग्छ, चुहिएको छत र चिरा परेको भित्ता उसको आफ्नै भाग्य हो जसलाई टाल्न ऊ रातदिन पाखुरा बजारिरहेछ । विगतका काला कर्तुत र अभिशप्त इतिहासको प्रमाण बोकेका र तमाम तमसुकहरू जलाउन सकेन मान्छेले । किनकि त्यसको लागि त शरिरमा दुई थोपा भए पनि तातो रागत दौडनुपर्छ । जसरी हाम्रा बाजेहरु पिढीको डिलमा बसेर चिलिम सल्काउँथे, त्यसरी नै आजको मान्छे भविष्यको मझेरीमा बसेर विगतको अगुल्टो समाउँदै सिंगो वर्तमान सल्काइरहेको छ । कठै  ! दयाको पात्र बनेको छ ऊ । अपार प्रकृतिको सुन्दर काखमा उसले खेल्न जानेन । सारा धरतीलाई घर, सम्पूर्ण प्रकृतिलाई आँगन र खुला असीमित आकाशलाई छत बनाएर चम्किला ताराहरूसँग लुकामारी खेल्दै वर्तमानको क्षण–क्षण जीउने अनुपम आनन्दलाई मान्छेले यसरी नै लात मारिरहेछ पटक–पटक ।

आकर्षक घर, सन्दर स्वास्नी र चञ्चल बालबच्चा –कति साँगुरो र संकुचित छ मान्छेको संसार ! यिनै चीजबीजहरुको वरिपरि मान्छेले जन्म लिन्छ, संघर्ष गर्छ र दुई मुठी सास छोड्छ । बरु सुँगुर बिष्ठा नखाईकन बाँच्न सक्ला तर मान्छे यिनै तत्वहरूको दया, माया, आड–भरोसा बिना बाँच्न सक्दैन । बाँचे पनि उसलाई आफ्नो जीवन सार्थक भए जस्तो लाग्दैन । बोक्नु, ब्याउनु, सुत्नु, सुतउानु, घिच्नु, घुर्नु, डकार्नु, खकार्नु– यसैमा उसले ईश्वरीय आनन्द भेट्छ । अझ एकदमै हाँसोउठ्दो कुरा के छ भने त्यही मान्छे क्रान्तिको कुरा गर्छ, परिवर्तन एवं विकासको गफ हाँक्छ, चेतनाको दर्शन दिन्छ । बेडमा सिरक ओढेर सुत्दै ऊ क्रान्तिको कुरा गर्छ । उसको लागि क्रान्ति भनेको गुन्द्रिमाथि सुतेका दुई ताता शरीरहरूको मस्त चलखेल हो । मान्छे परिवर्तन र विकासको कुरा गर्छ स्वास्नीसँग भान्छाकोठामा खासखुस–खुसखुस गर्दै । उसले ठानेको छ कि परिवर्तन भनेको रातभर रक्सीको मातमा कुटेर टाढिएकी स्वास्नीसँग भोलिपल्ट बिहान लाज पचाउँदै गरिएको सम्झौता हो । थुक्क ! मान्छेको बुद्धि । अझ चेतनाको कुरा गर्छ ऊ, साँझ पनि नपर्दै भट्टी पसलकी साहूनीसँग । उसलाई यस्तो लाग्छ चेतना भनेको दुई गिलास लोकल ठर्रा तानेपछि तुरुन्तै आउने जोश हो । यसरी मान्छेले मान्छेको ट्रयाक छोडिरहेको छ ।

हेर्दैमा डर लाग्ने अग्लो भीमकाय पहराको छातीमा निर्भिक फुल्दै उन्मुक्त हाँसिरहेको लालीगुराँसबाट सिक्नुपर्छ मान्छेले –क्रान्ति के हो ? बाहिरी कसैले सहारा र संरक्षण नपाईकन दिन दुगुना रात चौगुना मौलाईरहेको जंगलभित्रको दुबोको सुन्दर मैदानबाट सिक्नुपर्छ मान्छेले विकास के हो ? मौसम परिवर्तनको सूचना दिदैँ संसार को एक कुनाबाट अर्को कुनामा बसाइँ सर्न आकाशमा स्वतन्त्रतापूर्वक उडिरहेको क¥याङकुरुङको आकर्षक नृत्य सहितको लयबद्ध सुन्दर लस्करबाट सिक्नुपर्छ –चेतना के हो ? तबमात्र शेक्सपियरले आफ्नो कुनै कृतिमा भने झै हाम्रो भोलिको पुस्ताले भन्ने छ – "What a piece of work is man... how like a god ! The beauty of the World !" अन्यथा यदि यही परिस्थिति यथावत् नै रहने हो भने समाजका प्रतिभाहरु एक–एक गर्दै Misanthropist बन्नेछन् र नेपालका एक प्रसिद्ध कलाकार मनुजबाबु मिश्रले झै भोलि प्रत्येकले घोषणा गर्नेछन् –“समाज नीच छ । समाजका मान्छेहरु नीच छन् । मलाई घृणा छ त्यस्तो समाज । म त्यस नीच समाजमा उपस्थित भएर आफूलाई नीच बनाउन चाहन्नँ ।” 

(२०५७ बैशाख ५ गते सोमबार, आदर्श समाज दैनिकमा प्रकाशित)

 

LOADING
swoosh_up