ऋतिक रोशन, मुलुकको राजनीति र मेरो सपना
प्रिय अजनवी,
मुलुक क्रान्ति यात्रा र शान्ति यात्राको अप्ठेरो यान्त्रिकतामा किकर्तव्यविमूढ घिस्रिरहेको यस प्रहर मैले आफ्नो प्रेमपत्र अहिलेसम्म नगाइएको एउटा गीत लेखेर शुरु गर्न चाहेको थिएँ । मलाई माफगर, उचित गीत स्मराणमा आएन । र, स्मरणमा आएको गीत अरु कसैले गाइसकेछ ।
म जन्मेको मेरो परिवार, म हुर्केको मेरो समाज अहिले असमझदारी र संवादहीनताको मृत्योन्मुख शैय्यामा अचेतन सुतिरहेको छ । स्वप्नद्रष्टाको भीडमा हिजोआज म पनि हराएको छु । तिमीलाई थाहा हुनुपर्छ– औषत नेपालीहरुको निन्द्रा गहिरो छ । त्यही गहिरो निद्रामा हामीहरु श्रृंखलाविहीन सपनाहरु देख्छौं । आधुनीक मनोवैज्ञानीक कथन छ– “सपनाले निन्द्रालाई बाधा पु¥याउँदैन, बरु निन्द्रालाई सतत जारी राख्न सहयोग पु¥याउँछ । यो तथ्य हाम्रो वर्तमानमा शतप्रतिशत लागू हुन्छ । विपनाको अभाव हामी सपनामा पूर्ति गर्छौ । तिर्खाले आँत सुकेको बेला सपनामा हामी झरना देख्छौं । भोकले छट्पटिएको बेला सपनामा हामीलाई राजमहलको निम्ता आउँछ । सपनाबिनाको संसार हामी कल्पना गर्न पनि सक्दैनौँ । सपना हामीलाई निन्द्राभन्दा प्यारो छ । सपनामा यहाँ क्रान्ति हुन्छ, सन्धि हुन्छ । सपनामा यहाँ वार्ता हुन्छ, विवाद हुन्छ । सपनामा यहाँ आगो बल्छ, आन्दोलन चर्कन्छ । असमझदारी हाम्रो ओछ्यान, संवादहीनता हाम्रो सिरानी, निन्द्रा हाम्रो नियति, सुत्नु–सुताउनु हाम्रो संस्कार र सपना हाम्रो संसार । प्रिय, यही संसारमा मैले तिमीलाई धेरै पटक बिर्सन पुगेको छु । असंख्य नेपालीहरु जस्तै म अहिले एउटा बेचैनीमा बाँचिरहेको छु । सपनामा घट्ने सम्झौतालाई म कसरी समझदारी संज्ञा दिउँ ? एउटै शैय्यामा सुतिरहेको सहयात्रीबाट उत्पन्न एकोहोरो बर्बराहटलाई म कसरी संवादको श्रेणीमा राखूँ ? प्रत्येक नेपाली परिवार एवं समाजमा संवाद त्यति सहज छैन जति तिमीले आफ्नो सोसोलोजिका पाठ्यपुस्तकहरुमा पढ्न गरेका छौं । तिमी मान वा नमान, वर्तमान शताब्दीकै सबैभन्दा दुर्लभ प्रक्रिया हो – संवाद र उत्तर आधुनिक कालको प्रमुख विशेषता हो – असमझदारी । यहाँ प्रत्येक आमा–बाबु, दाजु–भाई र प्रेमी–प्रेमीका एक आपसमा विवाद गर्छन्, संवाद गर्दैनन् । तिमीलाई अचम्म लाग्न सक्छ, यहाँ विषवमन हुन्छ, वार्ता हुँदैन । यस परिवेशमा म तिमीसँग एउटा संवाद गर्दैछु यस पत्रमार्फत् । तर सबै मानवीय प्रयाहरु सफताको सिंढी चढ्छन् भन्ने भ्रम मैले आजसम्म पालेको छैन । यसमा मेरो गहिरो खेद छ ।
केही दिन पहिले भारतिय अभिनेता ऋतिक रोशनका नेपाली फ्यानहरुले उनको पुत्ला जलाए । तिमीले यस प्रकरणलाई कुन रुपमा लियौँ, मलाई थाहा छैन । जहाँसम्म मेरो सवाल छ । केही अपवादलाई छोडेर सो विरोध ऋतिकविरुद्ध ऋतिकका प्रशंसकहरुको विरोध थियो । अझ स्पष्टसँग भन्नुपर्दा सो विरोध ऋतिकविरुद्ध ऋतिकका प्रेमीहरुको विरोध थियो । मेरो यस अभिव्यक्ति तिमीलाई विरोधाभासपूर्ण लाग्न सक्छ तर यथार्थ यही हो । संसारका प्रेमीहरु, प्रशंसकहरु यति अबोध, सरल र सोझो चित्तका हुन्छन् कि उनीहरुलाई थाहा नै हुँदैन कि उनीहरुको पागलपनको कसैद्वारा गलत ठाउँमा गलत प्रयोग भईरहेको छ । उनीहरु तर्कमा बाँच्दैनन् तर सधैं तर्कद्वारा पराजित हुन्छन् । संसारको मानव इतिहासमा शायद यो पहिलो घटना होला जहाँ एउटा सिनेमाको पठ्ठो र उसका दर्शकहरुबीचको अनुरागमा उत्पन्न अविश्वासले रातारात राष्ट्रियता र सार्वभौम सत्ताको संवेदनशील पक्षलाई स्पर्श गर्न पुग्यो । हिन्दुस्तानी माहात्माका नातिहरु माल्कोनीको भेषमा मदहोश बर्बराउ थाले । नेपाली मोहन शमशेरका नातिहरू मोहन निरौलाको भेषमा सडक–सडक प्रेतात्मा ब्यूँझाए । आधा दर्जनभन्दा बढी नेपालीहरुको अनाहकमा ज्यान गुम्यो । क्रान्तिको जात्रादेखि शान्तिको यात्रासम्मका विचित्र नौटंकीहरु नेपाल भूमिमा बिमोचित भए । कतै ताली बज्यो, कतै गाली उब्ज्यो । पानी देखेर तर्सने रेबिज लागेका कुकुरहरू पनि जनसागरमा हाउहाउ गर्दै पुच्छर हल्लाउन थाले ।
यहाँनेर नित्से ठीकै भन्छन्, "Man cannot live without illusions" । मान्छे भ्रान्तिबिना जिउन सक्दैन । उसलाई भ्रमको जाल बुन्नुपर्छ । उसलाई सपनाको संसार निर्माण गर्नुपर्छ । नित्से अझ स्पष्टसँग भन्छन्, “सत्यको कुनै अर्थ छैन । जुन असत्य धेरै काम लाग्छ । त्यही सत्य हो ।” असत्य धेरै काम लाग्छ । नित्सेको उपरोक्त भनाइ हाम्रो सवालमा शत प्रतिशत सही छ । असत्य चौबीस घण्टा काम लाग्छ । भ्रान्तिविना मान्छे एक कदम पनि अघि बढ्न सक्दैन । सपनाबिना जिउन खोज्नु मान्छेका लागि एउटा दुःसाहस हो । हामीलाई थाहा छैन प्रेम शास्वत हुन्छ । तर मान्छे प्रेम शाश्वत भएको भ्रान्ति पाल्छ । हामीलाई थहा छैन – आत्मा अमर छ । तर मान्छे आत्मा अमर भएको झुटो मिथक बुन्न शुरु गर्छ । कविता जीवनको लागि जरुरी छ, ऊ यस्तै सपना देख्छ कविताको संसारमा । मान्छे भ्रान्तिविना जीउन सक्दैन ।
ऋतिकको पुत्ला जलाउने ती युवा हातहरुले हिजोसम्म उसैको प्रशंसामा सिनेमा हलभित्र ताली बजाएका थिए । सपनाको एउटा श्रृंखला थियो । त्यो यसै भन्न सकिन्न, भोली त्यसको पुनरुक्ति नहोला । किनकी स्वप्नद्रष्टा हामीहरु नै हौं । अस्तिसम्म धर्मेन्द्र, हिजोसम्म माधुरी र आज ऋतिक । सपनामा आउने यी पात्रहरु फरक–फरक हुन् तर ती पात्रहरुको निर्दिष्ट प्रवृत्ति एउटै हो । त्यस प्रवृत्तिमाथिको पेचिलो प्रहार वर्तमानको माग हो । तर हामी सतहमा सास फेरीरहेको छौं । बस्तुस्थितिको गहिराईमा नपुग्दै सपनका श्रृंखलाहरु पटक–पटक अवरुद्ध हुन्छन् ।
तिमीले कतै पढेको हुनुपर्छ, नभए कतै सुनेको हुनपर्छ । अफ्रिकाको जंगलमा एउटा अद्भुत जातको माकुरा पाईन्छ । जब भाले माकुरा पोथी माकुरासँग यौग संसर्गमा लिन हुन्छ तब पोथी माकुराले भाले माकुरालाई सशरीर खान शुरु गर्छे । यौन सम्पर्कको समाप्तिसँगै भाले माकुराको जीवललीला समाप्त हुन्छ । यो दृश्य अन्य माकुराहरुले पनि देखिरहेका नै हुन्छन् तर जब यौनको प्यास जाग्छ, भाले माकुराहरु आफ्नो निकट मृत्युलाई वास्ता गर्दैनन् । यता भाले यौनको उन्मादमा रम्छ । उता पोथी भालेलाई आफ्नो आहार बनाउँछे ।
प्रिय अजनवी ! चाहेर पनि म यो पत्रमा श्रृंखलाबद्ध हुन सकिनँ । मेरो छरपस्ट भावनाहरुले मेरो बेचैनीलाई औंल्याइरहेका छन् । यो एउटा बेतुक पत्र हो मुलुकको बेतुक राजनीतिको बारेमा । मालाई माफ गर्नू, म यस पत्रमा तिमीमाथि केन्द्रित हुन सकिनँ । अन्त्यमा म के भन्न चाहन्छु भने तिमी मेरो भ्रान्ति हौ, तिमी मेरो सपना हौ, तिमी मेरो इलुजन हौ । म भ्रान्तिविना बाँच्न सक्दिनँ । मुलुकमा लेण्डुप दोर्जेहरु विदेशी अक्टरलोनीले बिछ्याइदिएका राता कार्पेटहरुमा कामातुर हुँदै यौनको चरमोत्कर्ष खोजीरहेका यस प्रहर म योबाहेक तिमीलाई अरु के नै भन्न सक्छु र ? फरक यत्ति छ मुलुक क्रान्ति यात्रा र शान्ति यात्रामा विभक्त छ, म तेस्रो आकाशको खोजीमा भ्रान्ति यात्राको भिनिष्क्रमणमा भुल्दैछु ।
२०५७ माघ ४ गते बुधबार आदर्श समाज दैनिकमा प्रकाशित