Blog Image

पहाड बोल्छ र बोल्दैन पनि

दूरवीन कैद गरिरहेछ
एक चोइलो आकाश
दुब्लो वैज्ञानिक,
र, सोचिरहेछ
साँच्चै ! खस्छ पृथ्वीमा लामपुच्छ्रे तारा ?


कवि बुद्धिसागर चपाईको कविताभित्र सोचिरहेको दुब्लो वैज्ञानिकको मनोदशाबाट गुज्रनु–नगुज्रनु या छुटकारा मिल्नु–नमिल्नु तपसिलको कुरा हो । तर सोच्न सकिन्छ – साँच्चै ! खस्छ कहिले पृथ्वीमा लामपुच्छ्रे तारा ?


भुपेन हजारिकाले वर्षौ पहिले नसोधेका होइनन् –‘गंगा तुम बहती हो क्यूँ ?’ यो प्रश्न जन्मनुअघि र जन्मेपछि पनि गंगामा धेरै पानी बग्यो, बगिरह्यो । बहन्छ र त गंगा बाँचेको छ। गंगा बग्न सक्छ । एक अर्थमा बहनु गंगाको बगाई हो । गंगाको पानीमा ढल मिसाउने, गंगाकै किनारमा एकाबिहानै बिष्टाउने र मैला कपडाहरूको साबुनफिँज निस्फिक्रि फ्याँक्ने बनारसी बाबुहरूलाई गंगाको बगाई बरदान हो । ती त आँखाहरु हुन् जहाँ अर्थको अर्थ खोजिन्छ । यो समस्या गंगा र बनारसीबाबुहरूको होइन, समस्या ‘बचाइ’ र ‘बरदान’को हो । तिनीहरू पनि गंगालाई पुजा गर्छन्, एउटा अर्थमा । त्यसमाथि बग्नमात्र जानेको गंगासँग हिन्दुहरूको छुट्टै महिमा, महत्व र गाथा छ, अर्कै अर्थमा । खर्चै गरेर पुग्छन् पशुपतिका जनताहरू र गंगाको पानीलाई शीरमा राखेर विश्वनाथबाबाको दर्शन गर्छन् । जल चढाउँछन् र त्यही पानी सुरुप्प पिउँछन् अनि पिलाउँछन्, आफ्नै अर्थमा । गंगाकै किनारमा बालुवाको मूर्ति खडा गरेर पानीको घडा तुक्र्याउँदै पाण्डाहरूले सःशुल्क पितृ उतार्छन्, गोत्र घोक्छन् र वैदिक जात्रा निकाल्छन् आफ्नै अर्थमा । गंगाले सँधै बगाईको, गतिको र गन्तव्यको ‘अर्थ’ मात्र बोकेन, बोक्न सकेन । थुप्रै दुर्गन्धको, दुर्गतिको र व्यर्थताको भारी पनि बोक्यो, बिसायो र बगायो पनि । भुपेन हजारीकाको प्रश्न अझै पनि दूर–दूर गुञ्जन्छ– ‘गंगा तुम बहती हो क्यूँ ?’   तर गंगालाई ती सबै ‘अर्थ’हरूले बग्नबाट रोक्न सक्दैनन् । गंगा बगेको छ र त पानीका अर्थहरु किनारै–किनार छचल्किएका छन्, रुझेका मान्छेहरू आफ्नै अर्थहरूको वहीखाता खोलेर रकमी हिसाब गर्छन् । त्यो हिसाबसँग गंगाको लिनुदिनु वा भूलचुक केही पनि हुँदैन । 

सायद म बाङ्गाटिङ्गा धर्साहरु हूँ
कहिलेकाँही जोडिन्छु र अर्थ हुन्छ
कलिेकाँही टुक्रिन्छ र व्यर्थ हुन्छु । 

सरुभक्तका हुन् यी शब्दहरू । शब्दमा के छ त्यस्तो जादू ? केछ त्यस्तो कप्पन ! के छ त्यस्तो तरङ्ग ! खूब मन पर्दा हुन्छन् केही शब्दहरू । जीवन बोल्छ क्यारे ज्यादा । अझ जीवन पोल्छ क्यारे ज्यादा । पटक–पटक अँगालो मार्न मन लाग्छ यिनीहरूलाई । सायद सरुभक्तहरू अर्थ जन्माउँदैनन् । तर, सरुभक्तहरू शब्द बाँच्छन् । मलाई लाग्छ, अर्थ जन्माउनु इतरसरुभक्तहरूको कर्म हो । ‘अथर इज डेड’ – यो पश्चिमी अर्थले पूर्वमा समेत दशकौँअघि लौरो टेकीसक्यो । हो, अर्थ जन्माउने अधिकार गुमाए पनि सरुभक्तहरू शब्द बाँच्न सक्छन् । अन्यथा शब्दमा त्यसरी सजिलै बग्थेन जीवन । शब्द बाँच्न त्यत्ति सजिलो पनि त छैन । तर अर्थहरु लगाउन र जन्माउन अत्यन्तै सजिलो छ । अस्ति भर्खरै नाट्यकर्मी घनश्याम लामिछानेलिखित एकांकी संग्रहको विमोचन कार्यक्रमा सरुभक्तकै एउट अधिव्यक्ति सुनियो ‘...आजको युग प्रेमको कुरा गर्ने युग होइन, प्रेम बाँच्ने युग हो । प्रेमको बौद्धिक व्याख्या त घृणा गर्नेहरूले पनि गर्न सक्छन् ।’ हो, जोकोही प्रेम बाँच्न सक्दैन, सके पनि सके पनि टिक्दैन । भाव यस्तै थियो । भावको तन्काइतिर अहिले नजाऔँ क्यारे ! 

नसोचेको पनि होइन । जीवनको यो विन्दुमा धार नपरेको धमिला धर्साहरूले धेरथोर ध्वनि खोजे त म के गरुँ ? अझ भनाँै, जीवन आँफैमा धर्साहरु बने त म के गरुँ ? आगत, विगत र वर्तमानका थुप्रै जीवनसम्मत् पाइलाहरूबीच त्यसै लड्बडिएका, त्यसै लुट्पुटिएका र त्यसै लरखरिएका छन् आकार, अर्थ र स्वरूप नपाएका धेरै–धेरै धर्साहरू । पाइलाले गन्तव्य पाओस् या नपाओस्, कहिलेकाँही जोडिन्छन् धर्साहरु र ‘अर्थ’ पाउँछन् समीपका आत्मन्हरू । कहिलेकाँही तोडिन्छन्–टुक्रिन्छन् धर्साहरू, रेखीय रहरहरू र ‘व्यर्थ’ ठान्छन् समीपका आत्मन्हरू । त्यतै–कतैबाट मृत्यु हन्छ प्रेमको, आस्थाको अनि विश्वासको । र, त्यतै कतै जन्म हुन्छ घृणाको, द्वेषको र वैमनस्यको । एउटा कुरा पक्का हो, जीवनले भोगेका सबै अर्थहरू कविताभित्रका धर्साजस्तै बाङ्गाटिङ्गा हुन्नन् तर बनाइन्छन् । वास्वतमा ‘अर्थ’ सँग आफ्नै कुनै अर्थ छैन । म आँफै हिँडेका केही बाङ्गाटिङ्गा बाटाहरूले धेरै पहिले बुझाएको अर्थ हो यो । जीवनमा बुझाउनेहरू थुप्रै पाइन्छन्, बाटाभरी, बाण्डाभरी, बलेसीभरी जताततै । अर्थ बुझाउनेहरूको बजार कहिल्यै सुकेन, जहिले पनि नाफामै फैलियो । ब्याख्याताहरू शब्दको हत्या गर्छन् र जन्मको अर्थ लगाउँछन् । ब्याख्याका पारखीहरू स्वाद फेरेर शब्दको हत्या गर्छन् र सास फेरेर शब्दको अर्थ लगाउँछन् । मार्कर पेनले ह्वाइटबोर्डमा कोरिएका काला धर्साहरूभन्दा परको धुकधुकी सुन्दैनन् ह्वाइट बोर्डमा कोरिएका काला धर्साहरू । अनि नजानिँदो आकार ग्रहण गर्छ, धर्सा र धर्साहरूको समुहले । त्यो आकार अर्थको आकार पनि हुन सक्छ, त्यो आकार ब्यर्थको आकार पनि हुनसक्छ र, त्यो आकर अर्थ न बर्थको पनि हुन सक्छ । हो, त्यस्तै आकार थियो गत अंकको ‘मेरो मझेरी’ । त्यसलाइ पढेपछि लेखक रामकृष्ण ज्ञावालिले गत शनिबार माया गरेर सोधेका सबै सिधा प्रश्नको सोझो उत्तर दिन असमर्थ छ यो आजको मेरो लेखनी । र, म यतिखेर दावा ग्याल्मोका झैँ दोओ¥याएर भन्न पनि सक्तिनँ– ‘मलाई रुखो सहानुभूति नदेउ !’

 “समय त्रासदी” भित्रको नायक पात्र सागर अहिले स्मृतिमा आइरहेछ । स्वस्नीले सोधेको कुनै प्रश्नमा सागरको एउटा सोझो उत्तर हुन्छ– ‘यहाँ महान् ब्यक्तिका दुःखलाई महान् र साधारण व्यक्तिका दुःखलाई साधारण मान्ने चलन छ ।’ यहीँनेरै बिराएको छ समाजले आफ्नो बाटो र छोडेको छ गति र गन्तव्य । माफ गर्नू, मैले गति छाड्न सकिनँ । बस्, बाटो छाडिदिएँ । मलाई दुःखहरू महान् लागे, न कि व्यक्ती । मलाइ व्यक्तीहरू साधारण लागे, न कि दुःख । सायद धेरै पहिले ‘जाँतोमा घुमेका आकाशहरु’ शीर्षक आलेखभित्रै मैले लेखेको हुनुपर्छ – ‘हेर्दा–हेर्दै परिर्वतका थुप्रै पर्खालहरु बन्छन्, भत्किन्छन् र पुनः बन्छन् । सायद यो नै समय हो, समय नै यो हो । परिस्थिती जब्बर बनेर ठिङ्ग उभिएपछि कसैको केही लाग्दैन । ढल्छ, पटक–पटक ढल्छ स्वाभिमानको सत्तल । भत्कन्छ, पटक–पटक भत्कन्छ प्रतिभाको पर्खाल, समयक्रमसँगै । प्रयास आफैमा एउटा प्रयास न हो । केही लाग्दैन, केही हुँदैन । कुनै छुँदैन, कोही छोइन्न । त्यही बेला सुसेलिन्छ निरासाको स्वर, त्यही बेला फैलिन्छ अन्धकारको अँगन । आखिर बिद्रोह एउटा साधन न हो, साध्य होइन कुनै हालतमा होइन । आशा गरौँ, हरेक विद्रोहको बिस्कुनमा क्याक्टसको बीउमात्र बिछ्याइँदैन ।’

मलाई गितामा श्रीकृष्णले अर्जुनलाई भनेको वाक्य कहिलै मन परेन– ‘सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज’ अर्थात ‘सबै धर्म छाडेर मेरै लागि लाग’ । न त मलाई यो वेदवाणी नै कहिल्यै पच्यो –‘एकाम् लज्जाम् परित्यज्य सर्वत्र विजयी भवेत्’ अर्थात ‘त्यही एक लाज छोडेपछि सबैतिर बिजयी होला’ । बरु साँच्चै भनुँ भने मलाई हर बखत घोचिरहे ‘थाहा आन्दोलन’का प्रणेता रुपचन्द्र विष्टका यी तीन सुत्रले –‘जान्नु, बुझ्नु तर नमान्नु’ । प्रतिक्रिया दिनु र विद्रोह गर्नुलाई विष्टले कहिल्यै पनि एउटै ठानेनन् । मैले बुझेको प्रतिक्रिया र विद्रोहबीचको अन्तर, जन्तर र मन्तर पनि एउटै र उही थिएन सायद । मलाई थाहा छ, विद्रोहको मूल्य हुन्छ, महत्व हुन्छ र हुन्छ अर्थ पनि । तर प्रतिक्रिया कहिलेकँहि त्यसै दिनुपर्दोरहेछ, त्यसै लिनुपर्दोरहेछ, कुनै कस्ट नउठाइकनै । प्रतिक्रियाको मूल्य पहाडको फेदबाट चिच्याउँदा आँफैतिर फर्केको लटरपटर ध्वानी बराबर नै छ । एक अर्थमा त्यो मलाई थाहा छ र छैन पनि । हो, त्यही अर्थमा पहाड बोल्छ र बोल्दैन पनि ! 


(२०६० साउन २० गते मंगलबार ‘आदर्श समाज दैनिक’मा प्रकाशित) 

 

LOADING
swoosh_up