बाउसे बान्की र कटबाँसका कुरा
“टाउको मात्र फुटाएछन् । यिनिहरुको अझ खुट्टा पनि भाच्नुपर्छ । रामकृष्णजी, मैले बोलें लेखिदिए हुन्छ ।” आफ्नै कार्यथलोको अतिथि कक्षमा गत बिहीबार लेखक प्रकाश पाण्डेले पत्रकार रामकृष्ण ज्ञवालीलाई थोरै उत्तेजित पार्दै पोखेको आक्रोश हो यो । कतिपय अवस्थामा आक्रोश पनि अर्थपुर्ण सुनिन्छन् । बस् सुनिदिनुपर्छ मित्र राजन र सन्तोषका झैं शालिन, शान्त र शून्य मनोदशामा । सुनिदिने पात्रता जोकोहीमा हुँदैन; तर स्रोताको खोजि सबैमा हुन्छ । धेरै पहिले यू.जी. कृष्णमूर्तिले सबैलाई सुनाएकै हुन् —‘वी अल आर सिकिङ फर लिस्नर्स ।’
मेरा लागि अर्का पत्रकार मिलन ज्ञवालीसँगको पहिलो समसाथ थियो त्यो । एक अर्थमा थोरै नौलो र न्यानो पनि । त्यस बिहान चियाको चुस्कीसँगै केहीबेर कटबाँसका कुरा भए । कटबाँस बजारिएका महत, गौतम र पाण्डेहरूका संवैधानिक टाउकाका कुरा भए । कटबाँसको नयाँ खेती गरेर ख्याल—ख्यालमै ख्याति कमाएको खेतालो सरकारका कुरा भए । संवाद तन्किँदै थियो सायद ईन्दिरा गान्धीको ‘ईमर्जेन्सी’ देखि राहुल साङ्कृत्यानको ‘इन्क्लाब’सम्म ।
नारीस्वाभावका धनि नेहरुकी सुपुत्री इन्दिरामा प्रचुर मात्रामा पुरुषस्वभावको बाहुल्यता थियो, नेहरुले जीवनमा धेरै आदेश सुने, इन्दिराले जीवनमा धेरै आदेश दिइन्- अझ भनौं नेहरु जीवनमा ज्यादा स्रोता बन्न थाले, इन्दिरा ज्यादा वक्ता बनिन् । इन्दिराका बारेमा त्यसै भनेका छैनन् उनकै निकटवर्ती लेखक खुसवन्त सिहंले —‘सि इज् अ कन्क्रिट क्यारेक्टर’— एउटा ठोस चरित्र ! भारत राष्ट्र नेहरुलाई इन्दिराको पिता भएकै आधारमा गर्विलो र दर्बिलो महशुस गर्छ । ‘बुद्व यस धर्तिको पहिलो नास्तिक हो’ भनेर ठोकुवा गर्ने विद्वान् साङ्कृत्यायन झनै कन्क्रिट सुनिन्छन्— एउटा दार्शनिक ठोसपना ! “भागो नहिँ दुनियाँ को बदलो” पढेर राजनीतिमा लागेका नेपालका कम्युनिस्टहरूले किताब मात्र लेखेनन्, घरका तला र बार्दली समेत बढाए । उनको वैचारिक ठोसपनाको तरल ब्याख्या सरल तरिकाले गर्नसक्छन् नेपालका मनि र मार्केटवाला बामहरू । विश्वास लाग्दैन भने वाम विदुषक मोदनाथ प्रश्रितलाइ माइक लगाएर सोधे हुन्छ ।
हामीबीच भएका व्यक्त वा अव्यक्त, पूर्ण वा अपूर्ण सन्दर्भ र प्रसंगहरू यस्तै—यस्तै थिए । संवाद सायद अझ रोचक बन्यो होला । मलाई बीचमै बाहिरिनु प¥यो, विक्रमाब्द ०५८—०५९ का चर्चित रेडियो प्रस्तोता ‘फ्रिक ब्रो’ अर्थाात् सिरोज विजय कोइरालाको अनपेक्षीत आगमन र बोलावटसँगै । उसका आफ्नै कथा र योजना छन् जीवनगत विद्रोह, विवाद र विरोधका । स्वाभिमान र अधिकारको मैदानमा ऊ जब उत्रन्छ तब उसका कथा र योजना सुन्नुभन्दा ‘हेर्नु’मा मज्जा हुन्छ ।
बराजुको बलबुताले रातारात जन्मिएको वर्तमान खेतालो सरकार बराजुकै स्वीकृति र सल्लाहमा खेतबाट बाहिरिँदैछ । बराजुको यो नयाँ इशारा दिउँसोको घामझैं सबैसामु र्छलङ्ग छ । यो लिखित छापामा आउँदासम्म सम्भवतः मुलुकको बाँझो खेतले केहि बाउसेहरुको नयाँ बान्की देख्नेछ । त्यसबखत मात्र लेवल बदलिनेछ, अघिल्लो खेतालो सरकारको जस्तै यसले पनि नाम पाउनेछ— ‘बाउसे सरकार’ । तर ख्वामित्को खेती गर्ने हिसाब र सो हिसाब गर्ने सुत्र र शैली उही र उस्तै हुनेछ । कटबाँसको किस्सा तत्काल बन्द होला वा नहोला, तर यहाँ कुनै आकाश खस्ने छैन, धर्ति फाट्ने छैन । सत्ताको साँध छुन बाउसो समाउँदै आली लगाउन कस्सिएका बाउसेहरुलाई बेलैमा हेक्का रहोस् !
गिरिजाप्रसादहरुलाई पुरानो मनोरोगले छुनसम्म छोएको छ । मनोरोगको पूर्ण उपचार हुनै सक्दैन । स्वयम् मनोविज्ञान भन्छ- बेलाबेलामा बल्झीरहनु यसको लक्षण हो । दुई बर्ष अघिको ग्रायण्ड डिजायन अहिले बेहिसाब बक्दै र बुझाउँदै हिँडेका गिरिजाप्रसादहरूको सातो ०१७ सालमा पनि यसरी नै गएको हो । वास्तवमा अहिलेको राजनीतिक परिवेश सात सालदेखि पन्ध्र साल भित्रको परिवेशसँग हरकोणले मेल खाँदै जाँदा उनीहरूले टेक्ने टेको र समाउने लौरीको पीर पर्नु आँफैमा नाजायज छैन । हो, इतिहास दोहोरिने गर्छ, भविष्यलाई पृथक स्वरुप र संकेत सुम्पेर । कहिलेकाहीँ थाहा दिएर, कहिलेकाहीँ थाहा नदिइकनै दोहोरिने इतिहासका पृष्ठहरूमा श्रीकृष्णहरू द्रोपदीको सारीमात्रै होइन, शिखण्डीको शरीरसमेत पछि हुने प्रयोजनका लागि सुरक्षा र संरक्षण गर्ने गर्छन् । अचम्मको पक्ष के छ भने दुनियाँलाइ थाहा दिएर नै दोहोरिएको हो असोज तन्त्रको कालो इतिहास । थाहा नपाएझैँ गर्नु लमिहरूको अभिनय कौशलता हो । आखिर राजनीति गर्नेले जति योे दुनियाँमा अभिनय अरू कसले जानेको छ र ! अस्तिभर्खरै १ सय २७ को सारी ओढेर असोजतन्त्रको लागि मार्ग प्रसस्त गरिदिने शिखण्डी देउवाहरू फेरि सत्तामा जाने कथा हाल्दैछन् । एकै मिनेटका लागि भएपनि हुने रे ! बूढापाकाहरू सही बोल्छन्- “नकचराको ओखती हुँदैन ।”
(२०६० जेठ २० गते मंगलबार 'आदर्श समाज' दैनिकमा प्रकाशित)