धमिल्याएँ र ढुडलेँ पनि
झरीले रुझेको चरी भएछ जीवन
कसैले खेलेको खेलौना भएछ जीवन
.......................... ...........
पैले तिमी मलाई भन्थ्यौ
धनले किनिँदैन माया
कसले किन्यो हाम्रो चोखो माया
धन पायौ, पाइनौ तिम्ले माया !
पोखराको सांगितीक आकाशमा नयाँ सम्भावना बोकेर भर्खरै उदाएको एउटा सांगितीक समूहका व्याण्ड म्यानेजर पृथ्वी कुँवरको एउटा आग्रह मात्र थियो यी र यस्तै गीतले भरिएको उनको पहिलो र नयाँ एल्बम ‘क्रेजी ब्वाइज’ सुनिदिने, क्रेजी ब्वाइज अर्थात् राजेन्द्र राना, रोशन थापा बिनोद गुरुङ र सुमन गुरुङहरुको संगीत– समूह । एल्बमलाई सिरानी–सुत्र दिइएको छ – ‘लभ इज गिफ्ट गिभन बाई गड (प्रेम भगवानले दिएको उपहार हो)’ । कति प्रेमपुर्वक सुनेँ ती पोखरेली क्रेजी ब्वाईजहरूलाई र कति बुझेँ, यसै भन्न सक्तिनँ । संगीतको ‘कखरा’ नजानेको मजस्ताको जड मस्तिष्कले सजिलै बुझ्न सक्दैन यसको सुर–ताल । तथापि, आज लेख्दैछु केही संगीतको बारेमा, देखेकै भरमा र सुनेकै भरमा ।
नजरको के कुरा गर्ने ? बस्, नजर जुध्नु पर्छ, अझ जुधेपछि टुट्नुपर्छ । हो, नजरको कुरा बुझिनसक्नुको छ, त्यो भन्दा बढी बुझिनसक्नुको छ– गजलको कुरा । प्रीतको के कुरा गर्ने ? बस्, प्रीत गाढा भएर बस्नु पर्छ अझ बसेपछि छुट्नुपर्छ टाढा भएर । हो, प्रीतको कथा कहिनसक्नुको छ, त्यो भन्दा बढी कहिनसक्नुको छ– गीतको कथा । सम्झनाको के कुरा गर्ने ? बस्, सम्झना नजिक आइदिनुपर्छ घरिघरि, अझ आएपछि पर गइदिनुपर्छ नफर्कने गरी । हो, तबमात्र सम्झनाले आफ्नो जन्म लिन्छ संगीतको, गीतको अनि गजलको । सर्वत्र युद्धका जीवनविरोधी साइरनहरू अविराम बजिरहेको यस प्रहर केवल संगीतले समेट्न सामथ्र्य राख्छ नजरका कुरा, प्रीतका कथा र सम्झनाका सुत्र । यसले थोरै आशा जगाइदिन्छ बदलिएको नजरको कुरा गरेर, फेरिएको प्रीतको कथा हालेर र हत्या गरिएको सम्झनाको व्यथा कहेर ।
“गजल बुझ्न जिन्दगीको जड्याहा हुनुपर्छ”– धेरै पहिले एक गजल प्रस्तोताले छापामा बोलेको सत्य हो यो । उनले जे बोले, एउटा जिन्दगी बोले र जुन कसैले बोलेनन् । अहिले उनी के बोल्छन् वा बोलाइन्छन् अनि के बोल्दैनन् वा बोलाइन्नन्, उनको नसुनेको धेरै भयो । “गीत मन भत्किँदाको साथी हो, मन मुस्कुराउँदाको हितैषी हो, मन ओझेल पर्दाको दाँैतरी हो र हो, प्राप्तिको उमंग”– भर्खरै ‘चुलेसी र बलेसी’ का गीतकार ‘प्रकट’ पंगेनी शिवले गीतको कथा यसरी नै खुलासा गरे– छापामा ।
करिब एक वर्षअघि पोखरामा दीपराज थापाहरूको अग्रसरतामा ‘मिराज ग्रुप’ले ओयोजना गरेको सांगीतिक साँझ “स्वर अनेक, साथ एक” को सञ्चालन गर्ने क्रममा एक प्रश्न– “दाइ, तपाईलाई जिन्दगी के जस्तो लाग्छ ?” को प्रत्युत्तरमा – “भाइ, अरुहरू के ठान्छन् मलाई थाहा छैन, तर मेरो लागि जिन्दगी तीन चिज हो– संगीत, संगीत र संगीत ।” गायक ईश्वर गुरुङसँगको छोटो अनौपचारिक कुरामा भएका यी सवाल–जवाफले संगीतप्रति मलाई केही खोज्न विवश तुल्यायो । ‘सत्यम्, शिवम्, सुन्दरम्’ का सहयोद्धा ईश्वर गुरुङ जिन्दगीलाई संगीत, संगीत र संगीतकै सूत्रमा बाँध्छन् । मुलुक र मुलुबाहीर सर्वत्र सदाबहार एउटा पोखरेली ‘नमस्ते’ बनेका उनी असंख्य आत्माहरूका लागि अनौठा र अचम्मका लाग्छन् । पृष्ठ लामो हुन्छ उनलाई राम्ररी बुझेर राम्ररी नै बुझाउन खोज्ने हो भने । संगीतमा लागेका साधकहरू, सृजनामा तल्लीन सर्जकहरू दर्बोध्य लाग्ने गर्छन्– सतहमा रमाइरहेकाहरूलाई । ‘सत्यम्, शिवम्, सुन्दरम्’ को शास्वत सार खिच्न सजिलै सक्दैनन् क्षितिजमा हावा खाएर बाँच्नेहरू । क्षितिजमा हावा खानुमै आनन्द देख्नेहरूलाई संगीतमा परेड खेल्नु, साहित्यमा पौडनु र सिर्जनामा डुब्नु अल्बेयर कामुको मिथकभित्रको ‘सिसिफसकर्म’ जस्तै हुन्छ, अत्यासलाग्दो, पट्टयारलाग्दो र निरर्थक । संगीत जति साहित्यसँग नजिक छ त्यत्तिकै टाढा छ यो राजनीतिसँग । गामबेँशीमा कुनै बेला रामेशहरूले गाएको गीत र जेवी टुहुरेको मादलको खरी हिजोआज त्यतिसाह्रो सुनिँदैन र गुञ्जिँदैनन् पनि । कारण, गला जनिसुकै मखमली भए पनि, कला जतिसुकै सक्कली भए पनि राजनीतिको लेपन लागेपछि त्यसको आयु र आकर्षण क्षीण हुँदैजादाँरहेछ अनन्त कालमा । तारादेवीले गाएका राजभक्तिका भजनहरू, महारानी ऐश्वर्यबारे ताना शर्माले कथेका कपोलकल्पीत सम्झनाका भाकाहरूमा जतिसुकै नारायण गोपालहरूका गला रसाइए पनि, पुनः त्यस्तै स्तुतिसंगीत जन्माइए पनि तीनको अवस्था उस्तै नै हो जुन माथि छ । ‘देवासुर संग्राम’का परिकल्पनाकार मोदनाथ प्रश्रित एमालेको नौ महिले सरकारका मन्त्री बने तर ‘देवासुर संग्राम’लाई लेखकीय दृष्टिले थिच्न सकेन । पछि उनले अग्लो घरबाहेक अरु परिकल्पना गर्नै पाएनन् जसले गर्दा थुप्रै देवासुर संग्रामहरू गर्भमै तुहिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मस्तिष्क नराम्ररी खलबलियो डा. केआई सिंहको मन्त्री बनेपछि । कहिले माले कहिले एमाले नारायण ढकालको झालेमाले कलमको के कुरा गर्ने ? टिठ लागेर आउँछ । गिरिजा प्रसादहरूले न्वारान गरिदिएका ‘मृगस्थली’हरूको के चुरो समाउने ? डा. डीपीहरुलाई देख्दा र पढ्दा दया जागेर आउँछ ।
प्रसंग पूर्वपर नै छ । केही समय पहिले पोखराको सांगीतिक ‘नमस्ते’ भित्रका ईश्वर गुरुङहरूले मितेरी पार्कमा ‘बिलेटिड महाशिवरात्री’ मनाए– जय शम्भो...! पोखराको युवापुस्ता रातको साढे नौ बजेसम्म झुल्यो, भुल्यो र बेस्सरी खुल्यो– जय युद्धविराम ! सुनिल बर्देवाहरु बाजा बजाउँदै गए, खेमराज गुरुङहरु भाका हाल्दै गए, निमा रुम्बाहरु गाउँदै गए र पोखराको जिन्स जेनेरेशन मगनमस्त उफ्रिदै रह्यो । बडो रंगीन र रोचक लाग्थ्यो मितेरी पार्कको त्यो रात्रि जब जय शम्भोवाला सहयात्रीहरूले कण्डोमको बेलुन स्टेजको माथि–माथि उडाउँदै जान्थे र पिसाब भरेर मिनरल वाटरको बोटललाई स्टेजमा हु¥याउँदै जान्थे । यो पंक्तिकारलाई एउटा पूर्वस्मृतिले लखेट्थ्यो जब मञ्चबाट हात जोड्दै ईश्वर गुरुङ सम्झाउथे –“मेरा मित्रहरु, मेरा भाइहरु ! कृपया, अरुण थापाको लागि ......।’ पश्चिमा र पूर्वेली संगीतलाई सुन्दर संयोजन गरी स्वादीलो गीति खुराक पस्कनमा माहिर ईश्वर गुरुङ स्टेजमा उभिएर दुई हात दह्रो गरेर जोडे भने पोखराको जिन्स जेनेरेश अलिकति हच्किन्छ, अलिकति दच्किन्छ, अलिकति झस्किन्छ। र, असन्तुलित र आक्रोशित् भीड पूर्व सन्तुलनको ठाउँमा फर्कन्छ । यस्तो लाग्छ– उनले राजनीति गरेनन् तर नमस्ते धेरै गरे । नमस्ते नेताहरूको एकलौटी पेवा बनेन जब पोखराले सर्वत्र सदावहार सांगितीक ‘नमस्ते’लाई जन्मायो, हुर्कायो र माया ग¥यो । मैले यहाँ एउटा दुस्साहस गर्ने प्रयत्न गरे– सुन्दर संगीतलाई कुरुप राजनीतिसँग जोडेर । पोखरा र पोखरेलीको लागि महादेव र तुलबहादुर गुरुङजस्ता नेताहरूभन्दा धेरै प्यारा, न्याना र आफ्ना लाग्छन्, ईश्वर र अमृत गुरुङहरू । पोखरा र पोखरेलीको लागि धर्मराज थापा र सुन्दर थापाहरु धेरै प्रेम, सम्मान र सद्भाव योग्य छन्, कृष्ण थापा र भोला थापाहरूभन्दा । राजनीति ‘सधना’ हो तर संगीत ‘साधना’ हो । राजनीति ‘रोग’ हो र संगीत ‘योग’ हो ।
आजको बसाइँमा जीवनभित्र संगीत खोजेँ । संगीतले असंगती ल्याईदियो । नल्याउनु पथ्र्यो राजनीति र पनि विवश भयो लेखनी । सर्वत्र बिना राजनीतिको अक्सिजन पाउन सकिँदैन । त्यसैले त सङ्लो पानीमा सुन्दर माछा हेर्न धमिल्याए र ढुडलेँ पनि । ईश्वर, अमृत, धर्मराज, अरुण, कृष्ण, भोला, महादेव, तुलबहादुर..... के सबै विशेषण यसरी नै आलेखभित्र बाँधिनु उचित थियो त ? म यसको प्रतिउत्तर चाहन्छु –श्रद्धेय पाठकहरूबाट ।
(२०५९ चैत्र ११ गते मंगलबार, 'आदर्श समाज राष्ट्रीय दैनिक'मा प्रकाशित)